
करिब दुई सातादेखि नेपालका हलमा बलिउड फिल्म ‘सैयारा’ले बलियो पकड बनाइरहेको अवस्थामा अब यसलाई चुनौती दिन शुक्रबारबाट दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आउँदैछन् । दुवै फिल्ममा स्थापित कलाकारहरू रहेकाले घरेलु बक्स अफिसमा सुखद् व्यापारको अपेक्षा गरिएको छ । मंगलबारबाट दुवै फिल्मको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ ।

१८ जुलाईमा जब फिल्म ‘सैयारा’ रिलिज भयो, तब यो फिल्म मात्र थिएन, यो एक ‘रिक्स’ र एक विद्रोह पनि थियो । अन्ततः ‘सैयारा’ बलिउडका लागि एक प्रकाशको रूपमा देखा पर्यो । न ‘स्टार पावर’ न ठूलो ‘प्रमोसन स्ट्रेटजी’ । यसका बाबजुद पनि फिल्मले बक्सअफिसमा सफलताको झन्डा गाड्न सफल भयो । यो फिल्मले भारतमा मात्र तीन सय करोडको आँकडा पार गरिसकेको छ ।

नेपालको सीमा सुरक्षा र गरिब-दुःखी जनताको पीडालाई कथानक बनाएर निर्माण भएको फिल्म ‘परिवर्तन’को छायांकन झन्डै दुई महिनामा सकिएको छ । निर्माता दीपक सिवाकोटीले ५६ दिनमा फिल्मको दुई गीतसहित अन्य दृश्यहरूको छायांकन सोमबार सकिएको जानकारी दिए । उनका अनुसार एक राष्ट्रिय गीत र एक लोकगीत भने अझै खिच्न बाँकी छ ।

यही शुक्रबार अर्थात् साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ मंगलबार सार्वजनिक गरिएको छ । गीतमा अञ्जना खतिवडा र रवि ओडको युगल गायन रहेको छ भने बाबुल गिरीको शब्द तथा संगीत छ । अरेन्जमेन्ट र मिक्सिङ पनि बाबुल स्वयंको हो ।

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले चर्चा पाइरहँदा सोमबार दोस्रो गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक गरिएको छ । प्रेमिल भावको गीतमा फिल्मका मुख्य जोडी सुरक्षा पन्त र मन्जिल कुमारलाई देख्न सकिन्छ । उनीहरुबीचको प्रेम र नोकझोंकलाई गीतमा प्रस्तुत गरिएको छ ।

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ ।

