
यही शुक्रबार (साउन ११ गते)देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’बाट व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा पहिलोपटक निर्माता बनेका छन् । फिल्ममा उनी कलाकारको रुपमा पनि छन् । उनले विद्यालयको प्रधानाध्यापकको भूमिका निभाएका छन् । उनलाई फिल्ममा काम गर्ने इच्छा पहिलेदेखि हो । अन्ततः आफ्नै लगानीमा बनेको फिल्मबाट त्यो इच्छा पूरा गरे ।
प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘सारंग’को ‘चिसो बतास’ गीतमा २२ जना बालबालिकाले स्वर दिएका छन् । बालकुमारीस्थित कान्जिरोवा स्कूलका बालबालिकासहित किरण भुजेल र मुस्कान रानाभाटले मंगलबार एक स्टुडियोमा गीत रेकर्ड गरेका हुन् । कथाको माग बमोजिम नै २२ जना बालबालिकालाई गीत गाउन लगाइएको निर्देशक तामाङले जानकारी दिए ।

लामो अन्योलतापछि फिल्म ‘खजुरे ब्रो’बाट नीति शाहको डेब्यु भयो । तर, यो उनको पहिलो रोजाई थिएन । त्यसअघि उनले ‘स्टार’ नायकसँगका चारवटा फिल्म सम्झौता गरेकी थिइन् । ती कुनै पनि निर्माण हुन नसकेपछि उनले ठूलो चुनौती मोलेर ‘खजुरे ब्रो’ रोज्नु परेको थियो । किनकि, यसमा उनीबाहेक चिनिएका अरु कलाकार नै थिएनन् । त्यसले गर्दा सबैभन्दा ठूलो भार नीतिमाथि थियो ।

अभिनेत्री वर्षा सिवाकोटीका लागि यस वर्ष विशेष बन्दैछ । किनभने, यही साउन १८ गते ‘मोदीबेनी’ र दशैंको फूलपातीमा ‘छक्का पञ्जा ५’ गरी उनका दुई फिल्म प्रदर्शनमा आउने तयारीमा छन् । यसमध्ये ‘मोदीबेनी’लाई लिएर उनी बढी दबाबमा छिन् । किनकि, यो फिल्म चलाउनुपर्ने जिम्मेवारी नै लगभग उनको काँधमा छ । यसैले हुनसक्छ, उनले प्रचारमा राम्रै सक्रियता देखाइरहेकी छन् ।

गुरुङ भाषाका फिल्ममा अभिनय गर्दै आएकी अभिनेत्री कृष्टिन गुरुङ मूलधारको फिल्ममा पनि अगाडि बढिरहेकी छन् । अघिल्लो वर्ष आएको ‘दयारानी’मा छोटो भूमिकामा देखिएकी उनले अब यही साउन ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ईश्वर’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् । उनी यो फिल्ममा निर्माता ध्रुव थापा र अभिनेता माओत्से गुरुङका कारण जोडिन पुगेकी थिइन् ।

लगभग एक दर्जन फिल्ममा अभिनयको अनुभवपछि अभिनेत्री वर्षा राउतले अब नाटकमा डेब्यु गर्ने भएकी छन् । विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’बाट उनले रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । यही नाटकबाट वर्षासँगै जोयस पाण्डेले पनि अभिनयमा डेब्यु गर्दैछन् । जोयश फिल्म ‘साँघुरो’का निर्देशक समेत हुन् । यो नाटकमा जोयश र विमलको संयुक्त लेखन छ ।