
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभिनेता विजय बरालको करिअर नै कायापलट गर्यो । यसअघि सहायक भूमिकामा सीमित भएका उनलाई ‘सारङ्गी’को व्यावसायिक सफलतापछि मुख्य भूमिकामा फिल्म अफरको ओइरो लागेको छ । उनको पारिश्रमिक नै झन्डै चार गुणाले बढेको छ । अहिले उनी महंगो पारिश्रमिक बुझ्ने नेपाली अभिनेताको ‘टपटेन’ सूचीभित्र अटाउँछन् ।

अभिनेत्री द्वय रेखा थापा र पूजा शर्मा ‘उपहार’पछि एकपटक फेरि फिल्ममा देखिने तयारीमा छन् । उनीहरुले कहिले ‘काली २’ त कहिले नयाँ एक्सन फिल्ममा काम गर्ने चर्चा चलेको भए पनि अब भने फिल्मको नाम यकिन भएको छ । ‘छत्तिसको आँकडा’ नामको फिल्ममा उनीहरुले सहकार्य गर्न लागेका हुन् । यसलाई ‘कस्ले चोर्यो मेरो मन’का निर्देशक सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

‘कौसीद’ फिल्मका निर्माता केदार भुसालले निर्माण गरेको नेपाली वृत्तचित्र ‘जहाँ फुल्छ गुराँस’ (द प्लेस ह्वेयर रेडोडेन्ड्रोन्स ब्लोम) दक्षिण एशियाली निर्माताको डकुमेन्ट्री परियोजना विकासमा केन्द्रित सिर्जनात्मक ल्याब ‘डक प्रोड्युसिङ साउथ’मा छनोट भएको छ । ६० बढी भाषाका १११ वटा आवेदनहरूमध्ये नेपालबाट उक्त वृत्तचित्र छानिएको हो ।

आगामी भदौ २० गतेदेखि ‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरूङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ प्रदर्शनमा आउने तयारीमा छ । दुई साताअघि सार्वजनिक टिजरले दर्शकमाझ चर्चा बटुलिरहँदा टिमभित्र भने विवाद देखिएको छ । निर्माताले प्राविधिकदेखि कलाकारसम्मको पूरा पारिश्रमिक अझै तिर्न बाँकी हुँदा फिल्मका मुख्य कलाकारले नै प्रचार बहिष्कार गरेका छन् ।

पछिल्लो समय टिकटक पृष्ठभूमिका कलाकारहरुको फिल्ममा डेब्यु गर्ने लहर नै देखिएको छ । गरिमा शर्मा, सनिशा भट्टराई, पवित्रा साकी (मिस पबी), सिम्रन पन्त जस्ता टिकटकरले फिल्मी करिअर सुरु गरिसकेको अवस्था अब अर्की टिकटक ‘स्टार’ आभा ढुंगानालाई पनि फिल्ममा देख्न पाइने भएको छ । उनले फिल्म ‘कश्यप’बाट डेब्यु गर्न लागेकी हुन् ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक गरिएको छ । सोमबार बिहान युट्युबमार्फत सार्वजनिक साढे २ मिनेटभन्दा लामो टिजरले फिल्मको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेको जानकारी दिन्छ । टिजर मूलतः च्याब्रुङ बजाउन नआउने नाम्साङ (दयाहाङ राई)को वरिपरि घुमेको छ ।

