
गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् । ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।

‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । अभिनेताद्वय खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि फिल्ममा अब अर्का अभिनेता आर्यन सिग्देलको पनि प्रवेश भएको छ । यसै साता आर्यनसँग निर्माण पक्षले लिखित सम्झौता गरेको हो । फिल्ममा उनी घरबेटीको भूमिकामा देखिन लागेको चर्चा छ ।

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य अभिनेता हरिहर अधिकारी ‘एंग्री योङम्यान’को लुक्समा देखिएका छन् । एउटा हातमा तातो चियाको कप लिएका उनको शरीरमा चोटैचोट र रगत बगिरहेको छ । यसले फिल्ममा उनको चरित्र हिंसात्मक रहेको संकेत गर्छ ।

यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’का दुई प्रमुख कलाकार वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले प्रचारका लागि कुनै प्रयास छाडेका छैनन् । केही दिनअघि ऐतिहासिक ‘पशुपति कोटिहोम महायज्ञ’मा सहभागी भएर फिल्म सफलताको आशीर्वाद मागेका थिए । शनिबार भने यो जोडीले बागमती नदीमा र्याफ्टिङ गर्दै फिल्मको प्रचार गर्यो ।


चलचित्र विकास बोर्डले डेढ वर्षदेखि स्वदेशी र विदेशी फिल्मको बक्सअफिस तथ्यांक सार्वजनिक गरेको छैन । जसले गर्दा निर्माता र वितरकबाट प्राप्त तथ्यांकलाई नै आधार मान्नुपर्ने अवस्था छ । तर, प्रायःले फिल्मलाई सफल देखाउन वास्तविक आँकडाभन्दा दोब्बर बढाएर समेत सार्वजनिक गरिरहेका छन् । बोर्डले बक्सअफिस रिपोर्ट लुकाएर राख्दासम्म यो प्रवृत्ति कायमै रहने देखिन्छ ।