
अभिनेता राजेश हमालको जीवन, सिनेमा र समाजका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमका बीच हमालसहित उनकी पत्नी मधु भट्टराई, साहित्यकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

काभ्रे जिल्लाको बनेपामा निर्माण भइरहेको अत्याधुनिक फिल्म छायांकन स्टुडियो ‘सिनेपाः’का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट उपलब्ध गराउने भएको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच यस सम्बन्धी सम्झौता भएको हो ।

भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सोल्टिनी’को नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा तयार पारिएको यस गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ भने शब्द तथा संगीत निर्देशन प्रशान्त स्वयंको हो । संगीत संयोजन देवेश राईले गरेका छन् ।

तिहारको छेको पारेर यही असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको झन्डै चार मिनेट लामो ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मको उच्च मेकिङ देखिन्छ ।

अभिनेत्री रीमा विश्वकर्मा देशको समसामयिक विषयलाई लिएर सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहेकी हुन्छिन् । जेनजी आन्दोलनपछि उनले लेखेका केही स्टाटस निकै चर्चामा पनि रहे । केही दिनअघि उनले एमालेका नेता महेश बस्नेतलाई नेता हो कि गुन्डा भन्दै लेखेको स्टाटसले ठूलै चर्चा पाएको थियो । यसको जवाफमा महेशले भने जातीय विभेदको विषय उठाएका थिए ।

चर्चित कमेडी शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार पर्वतको भूकदेउरालीमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरेपछि फिल्मको छायांकन सुरू गरिएको हो । ३५ दिनको तालिकामा २० दिन पर्वतमा र १५ दिन काठमाडौंमा छायांकन हुने जनाइएको छ ।

