
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ‘तिमी भए काफी’ बोलको गीतमा समीर श्रेष्ठको स्वर रहेको छ भने सास्वत श्रेष्ठले अडियो उत्पादन गरेका हुन् । गीतमा प्रेम र समर्पणको भावना व्यक्त छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘सृष्टिकै पहिलो नाम’ बोलको गीत दर्शकमाझ ल्याएको हो । रवि ओडको स्वर र बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतले आमाको माया, समर्पण र छोराप्रतिको लगावलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेन्द्र शाह (बालेन)को र्याप गायनमा फिल्म ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । बालेन स्वयंको युट्युब च्यानलमार्फत सार्वजनिक ‘आम नेपाली बुवा’ बोलको गीतले बुबाको संघर्ष, जिम्मेवारी र सन्तानसँगको भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ । गीतमा बालेन स्वयंको शब्द छ ।

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘बिगुल’को आइतबार टिजर सार्वजनिक भयो । तर, अहिलेसम्म उनले आफ्ना कुनै सामाजिक सञ्जालमा टिजर सेअर गरेकी छैनन् । यसले गर्दा उनी फिल्मको टिमसँग असन्तुष्ट रहेको चर्चा चलिरहेको छ । यस्तैमा उनले सोमबार फेसबुकमा एक पोस्ट लेख्दै फिल्ममा नै नभएको विषय टिजरमा राखिएकोमा आपत्ति जनाएकी छन् ।

प्रणय दिवस (भ्यालेनटाइन डे)को छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य जोडी अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रसन्न मुद्रामा प्रस्तुत गरिएको पोस्टरले फिल्म प्रेमकथामा आधारित रहेको स्पष्ट पार्छ । पोस्टरमा उनीहरूको प्रेम र आत्मीयता झल्किएको छ ।

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’मा पुराना र नयाँ पुस्ताका कलाकारहरूको समिश्रण देख्न पाइन्छ । फिल्म क्षेत्रमा अग्लो कद बनाएका गणेश उप्रेतीदेखि जेनजी पुस्ताकी प्रियना आचार्य (मुन्नी)सम्मले यस फिल्ममा अभिनय गरेका छन् । यसैले फिल्मप्रति दर्शकमा उत्सुकता, चासो र अपेक्षा बढेको देखिन्छ ।

