नेपाल चलचित्र कलाकार संघले आफ्नो १३ औं साधारण सभा आज काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको छ । साधारण सभामा चलचित्र क्षेत्रका विभिन्न कलाकार तथा पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत भए ।


‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार’बाट निर्देशक तथा कलाकार रमेश वुढाथोकीलाई ५६ हजार नगदसहित पुरस्कृत गरिएको छ । ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार’बाट कलाकार भीम बहादुर थापालाई नगद २१ हजारसहित पुरस्कृत गरियो ।
‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान’बाट समिक्षक डाक्टर प्रदिप भट्टराई र प्रतापचन्द्र तामाङलाई सम्मानित गरिएको छ । यस्तै ‘नेपाल चलचित्र पत्रकारिता सम्मान’बाट अनलाइनखबर डटकममा आवद्ध विजय सुवेदी ‘आवाज’लाई सम्मानित गरियो । विगत एक दशकदेखि नेपाली चलचित्र पत्रकारितामा सक्रिय भएको भन्दै उनलाई सम्मान गरिएको हो ।
साथै चलचित्र पत्रकारिता सम्मानबाट सानुकाजी श्रेष्ठलाई पनि सम्मानित गरियो । अभिनेत्री रिमा विश्वकर्मालाई ‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान’बाट सम्मानित गरिएको छ । ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’बाट सानु ताम्राकार, विजय देउजा र रवि गिरीलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपराष्ट्रपति परमानन्द झाले कलाकार संघले कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले कलाकारहरुको भूमिका राष्ट्र निर्माणमा अहंम हुने बताए । उनले बागमती सफाइमा कलाकार संघको नाम आएपनि सहभागिता न्यून रहेकोमा गुनासो व्यक्त गरेका थिए ।
अध्यक्ष नबल खड्काले चलचित्र कलाकार संघले बर्षभरि गरेका कामको विवरण सुनाएका थिए । उनले कलाकारहरुको हितका लागि सधै नै लागिपर्ने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले शुभकामना दिएका थिए ।
यता संघको कार्यक्रममा उपस्थित भएका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले आफ्नो पहलमा हुन लागेको फिल्मकर्मीको बर्गिकरणको मुद्धाका बारेमा आएको बिरोधप्रति आपत्ति जनाए । उनले कलाकारको मात्रा वर्गिकरण गर्न नलागेको र पहिलो चरणको कुरा मात्र भएकाले अन्य संघसंस्थासँग छलफल गर्न बाँकि रहेको बताए ।
फिल्मकर्मीलाई कसरी राष्ट्रिय सम्मान प्रदान गर्ने ? त्यसका मापदण्डहरू के-के हुन् ? कलाकारहरूलाई सरकारको तर्फबाट कस्तो सुविधा दिने ? यि यस्तै बिषयहरूलाई पूरा गर्न उच्चस्तरिय संयन्त्र तयार गर्न एउटा समिती गठन गर्न लागेका हौं', अध्यक्ष राईले भने, 'हाम्रो यो प्रयासलाई नबुझी कलाकार संघले किन बिरोध गर्दैछ ?
यता निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले पपुलारिटीको आधारमा कलाकारको वर्गिकरण गरेको खण्डमा त्यसको बिरोध गर्ने बताउँदै भने, 'यहाँ कलाकारको बर्गिकरण नभई उनीहरूको आर्थिक स्रोतको वर्गिकरण हुनुपर्छ ।' यस्तै उनले हलको वर्गिरण गरिनु पर्ने र वक्स अफिसको स्थापना गरिनु पर्ने कुरामा जोड दिए ।
यता कलाकार संघका निवर्तमान अध्यक्ष तथा सम्मानित व्यक्तित्व रमेश बुढाथोकीले सिर्जनाको वर्गिकरण गर्न नहुने धारणा राखे । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले एकअर्कामा बाझ्ने काम नगरी नीतिगत रूपमा सम्पूर्ण संघसंस्था एकै थलोमा बसेर छलफल गरी उचित निश्कर्ष निकाल्ल सम्बन्धित व्यक्ति तथा संघसंस्थालाई सुझाए । कलाकार संघका अध्यक्ष नवल खड्काले कलाकारअको वर्गिकरण गर्ने कुराको बिरोध गरेपछी कार्यक्रममा चर्चाचर्की भएको हो ।
.jpg)











