Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वार्गिय साम्भाको परिवारमा खुसी छर्ने को ?

सुमन गैरे, काठमाण्डौ, 2014/09/05
३० बर्ष भन्दा ज्यादा फिल्म क्षेत्रमा विताएका मेकअप म्यान साम्भा दिनकर पाटिलले गत बर्ष फिल्म क्षेत्रलाई ठुलो गुन लगाएर यो संसारबाट बिदा भए । तिनै पाटिलको परिवार अहिले सहयोगको अपेक्षामा छ तर कसैले गुन लगाउन सकेको छैन । 
 
स्वार्गिय साम्भा दिनकर पाटिल
 
युकेमा बस्दै आएका अभिनेता ध्रुब दत्तले बेल्जियमका केही साथीहरूको सहयोगबाट जम्मा गरेको १५ हजार रूपैंया ग्रहण गर्न शुक्रबार नेपाल चलचित्र प्राबिधिक संघको कार्यालयमा आएकी स्वर्गिय साम्भाकी अर्धाङ्गिनी तारा क्षेत्रीले गुनासो पोख्दै भनिन्, 'नेपाली फिल्म भन्दा भन्दै वित्नु भयो तर त्यही नेपाली फिल्म क्षेत्रले केही नगर्दा सार्है दु:ख लागेको छ ।'
 
सामान्य जागिरले दुई छोरालाई पाल्दै आएकी ताराले सरकारले सहयोग गर्ला भन्ने आश छैन । फिल्म क्षेत्रबाट उनले ठुलै आश राखेकी थिईन् तर निराश छिन् । 'उहाँले फिल्ममा नै आफ्नो जीवन अर्पण गर्नुभयो । म अब छोराहरूको जीवन उज्जवल भएको हेर्न चाहन्छु,' सहयोगको अपेक्षा राखेकी तारा सुनाउछिन्, 'जेठो छोरो थापाथलीमा अटो मोबाईल इन्जिनियरिङ्ग गर्दैछ । उसको भविष्य बनाउन पाए मलाई केहि चाहिंदैन ।' 
 
आफ्नो कमाईले घर खर्च धान्न मुस्किल भएपछि इन्जिनियरिङ्ग पढ्दै गरेको छोरालाई सहयोग गर्ने कोही नभए अन्तिम विकल्पको रूपमा खाडी मुलुक पैसा कमाउन पठाउने सोच ताराले बनाएकी छिन् । उनको यो चाहना नभएर बाध्यता हो । 'उहाँले पैसा कमाएको भए आज हात फैलाउन पर्थेन,' साम्भाले फिल्म लाईनका थुप्रै व्यक्तिहरूलाई सहयोग गरेरै पैसा कमाउन नसकेको गुनासो पोखिन् ।   
 
स्वार्गिय साम्भा दिनकर पाटिलकी श्रीमती तारा क्षत्री 
 
तारासँग सम्पत्तिको नाममा दुई छोरा प्रतिक र ऋतिक छन् । 'उहाँ पैसाको पछि लाग्नु भएन । इज्जत र मानसम्मान कमाउनु भयो । म त्यसमा नै गर्व गर्छु,' केहि बेर अगाडीसम्म मलिन अनुहारमा देखिएकी ताराले गर्वले छाती फुलउँदै भनिन् । 
 
३० बर्षसम्म कलाकारलाई सिंगारेका साम्भाको परिवार आज उजाड छ । एक बर्ष अगाडीसम्म सुखी रहेको परिवारमा आज दु:ख मात्र छ । 'उहाँले जसोतसो गरेर छोराहरूलाई पढाउनु भएको थियो । छोराहरू पढेर मानसम्मान पाएको हेर्न चाहनु हुन्थ्यो । उहाँले आफूले देखेको सपना पूरा गर्ने जिम्मेवारी फिल्म क्षेत्रलाई सुम्पेर जानु भएको छ', उनमा आशाको त्यान्द्रो देखियो ।
 
स्वार्गिय साम्भाकी श्रीमती तारालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै अभिनेता ध्रुब दत्त र प्राबिधिक संघका पदाधिकारीहरू 
 
'साम्भा जस्ता आर्थिक रुपले कमजोर फिल्मकर्मीलाई सम्मान हैन आर्थिक सहयोग चाहिन्छ,' चलचित्र प्राबिधिक संघका अध्यक्ष मनोज केसी भन्छन्, 'फिल्म क्षेत्रकै लागि रातदिन खट्ने प्राबिधिकलाई सरकारले नहेरेपनि फिल्मकर्मी र यससंग सम्बन्धित संघसंस्थाले हेर्नुपर्छ ।' उनले जती दु:ख गरेपनि प्राबिधिकको भविष्य नरहेको दुखेसो पोखे । 
 
'बासुदेव’ मार्फत भारतबाट नेपाली फिल्मसँग जोडिन आइपुगेका साम्भाले ३० बर्ष भन्दा बढि समय नेपाली फिल्मका खर्चिंदा सरकारले एउटा नागरिकता बाहेक अरू केहि दिन सकेन । 'सरकारी जागिरे भएको भए उनको पेन्सन पाक्थ्यो । न फिल्म क्षेत्रले केहि दियो न सरकारले ।  तर, साम्भाले नेपाली फिल्म क्षेत्रलाई सर्वस्व दिए,' केसीले भने । 
Most Visited News (monthly)