अभिनेता राजेश हमालले आफूलाई लोकगीत सधै नै प्यारो लाग्ने बताएका छन् । आज काठमाण्डौमा आयोजना भएको ‘राष्ट्रिय लोकदोहारी अवार्ड’मा हमालले लोकगीत नेपालको मौलिक कला रहेको समेत बताए ।
हमालले इतिहासका बारेमा वुझ्न पुस्तक पढ्न भन्दा पनि पुरानादेखि नयाँसम्मका लोकगीतहरु सुन्न दर्शकलाई आग्रह गरे । उनले भने–‘लोकगीत हाम्रो मनमा छ । यो हाम्रो माटो हो । अरु गीत आउँछन् जान्छन् तर लोकगीत कहिल्यै मर्दैन ।’
अवार्ड बाँड्न आएका हमालले गायक बद्री पंगेनीको साथमा 'लालुपाते नुघ्यो भूईंतिर' बोलको गीतमा नृत्य गरे । पंगेनीले सधै हमालले आफूसँग नृत्य गरेको भन्दै गीत गाएपछि हमालले पनि कम्मर मर्काए ।
पछिल्ला समयमा हमालले लोकगीतमा पनि अभिनय गरिसकेका छन् । यसैले पनि उनको मनमा लोकगीतप्रतिको माया अझै बढेको हुनसक्छ । कार्यक्रममा आफूलाई देखेर उत्साहित बनेका दर्शक र आयोजकलाई हमालले निराश हुन दिएनन् ।

