बंगालादेशको राजधानी ढाकामा सुरु भएको लघु फिल्म महोत्सवमा नेपालबाट २ छोटा फिल्म सहभागी भएका छन् । शुक्रबार र शनिबार चल्ने यो महोत्सवमा गोपालचन्द्र लामिछानेले निर्देशन गरेको ‘द मिरर’ र दिपक रौनियारले निर्देशन गरेको ‘चौकठि’ प्रदर्शन हुन लागेका हुन् ।

नेपाली राजदुतावास ढाकाबाट परराष्ट्र मन्त्रालय हुँदै चलचित्र विकास बोर्डमा फिल्मका लागि मागपत्र आएपछि यि दुई फिल्मलाई पठाउने निर्णय गरिएको हो । फिल्म ‘ द मिरर’ ६ मिनेट ५५ सेकेन्ड लामो छ भने ‘चौकठि’ १८ मिनेट लामो छ ।
शक्तीबल्लभ घोरासैनीले निर्माण गरेको ग्रामिण महिलाको दिनचर्याको कथा भन्ने ‘द मिरर’मा भगवती अधिकारी, लक्ष्मण शेष र बालकलाकारको रुपमा मुस्कान केसीले अभिनय गरेका छन् । प्रगतिवादी विषयलाई महिलाका पक्षबाट उठाएको 'चौकठि'मा रञ्झु झा (जनकपुर बम काण्डमा मारिएकी), घनश्याम मिश्र र आशा मगरातीले अभिनय गरेका छन् ।

