अभिनेता ध्रुब दत्त लण्डनमा बस्छन् । तर नेपाली फिल्मको मोहले उनलाई घरी घरी नेपाल तानिरहेको छ । फिल्म ‘आबेग’को छायांकनमा व्यस्त अभिनेता दत्तले भने–‘म पैसाका लागि भन्दा पनि कलाकारिता प्रतिको मोहका कारण अभिनय गर्छु ।'
कलाकारितामा लागेर प्रशस्त रकम कमाउने लोभ उनमा पलाएको छैन । 'कलाको पुजारी भएपछि नेपालमा आएर काम गर्न मन लाग्छ,' उनी कलाप्रेमि भएको देखाए । बेलायतमा थुप्रै नेपाली बसेपनि केहीले मात्र नेपाली फिल्ममा अभिनयको काम पाएका छन् । फिल्म क्षेत्रले पत्याइदिन्जेलसम्म आफूले काम गर्ने उनको भनाई छ ।
कतिपयले उनलाई लण्डनमा फिल्म देखाइदिन्छ भनेर पनि लिने गरेका छन् । ध्रुब यो कुरा स्विकार पनि गर्छन् । उनले भने–‘फिल्म खेलेपछि लण्डनमा शो गर्ने व्यवस्था गरिदिनु मेरो कर्तव्य पनि हो । निर्मातालाई पनि बचाउनुपर्छ भन्ने मलाई लाग्छ ।’
आधा दर्जन बढी नेपाली फिल्ममा काम गरिसकेका ध्रुबले कतिपय फिल्मका लागि बेलायतको अधिकार पनि लिन्छन् भने कतिपयमा उनले गतिलो पारिश्रमिक पाएका छन् ।
एक कलाकार जो विदेशमा बसेर पनि नेपाली फिल्मलाई मनदेखि नै माया गर्छ । ध्रुब उनै कलाकार हुन् जो अभिनयमा मोह राख्छन्, सबैको भलाई होस् भन्ने चाहन्छन् ।

