चलचित्र सेन्सर बोर्डबाट कुनै पनि अनुमती पत्र नलिइकन फिल्मको च्यारेटी गर्न खोज्नु गैरकानुनी बिषय हो । यहि कानुन विपरित काम गर्न खोज्दा फिल्म 'जोश' युनिटले समस्या झेल्नु परेको छ ।
ऋषि न्यौपानेको निर्देशनमा तयार भएको फिल्मले ‘जोश’ यूनिटले सेन्सर नगरी च्यारेटी गर्न खोज्दा सेन्सर बोर्डले प्रदर्शनलाई रोक लगाएको छ । आज बिहान ९ बजेबाट ललितपुरको गुण हलमा हुन लागेको च्यारेटी शो चलचित्र सेन्सर बोर्डको सक्रियतामा रोकिएको हो ।
चलचित्र सेन्सर बोर्डका अध्यक्ष कविराज खनालले आफूहरु खबर पाएपछि गृहलाई जानकारी गराएको र गृहले ललितपुर प्रहरीलाई खबर गरेको फिल्मीखबरलाई बताए । प्रहरीले हलमा पुगी फिल्मको च्यारेटी रोक्न लगाएको बताईएको छ ।
यता गुण हलले पनि सेन्सरको कुनै सर्टिफिकेट नल्याएकाले फिल्म चलाउन नदिएको बताएको छ । 'सबै कागजपत्र ल्याउछौं भनेकाले हल दिएका थियौं तर नल्याएपछि चल्न दिएनौं', फिल्मीखबरसँग कुरा गर्दै गुण हलका म्यानेजर महेश शाक्यले भने ।
निर्देशक ऋषि न्यौपानेले संगीतकार कमलकृष्णको लापरवाहीले आफूहरुले दु:ख भोग्नु परेको जानकारी दिए । कमलकृष्णले ‘सिरानीमा तिम्रो तस्बिर’ बोलको गीत आफू र अर्को एक फिल्मलाई वेचेपछि लफडा भएको ऋषिको भनाई छ ।
उनका अनुसार ८ बर्ष अगाडि बनेको ‘तगारो’ फिल्मको गीत आफूहरुलाई पनि कमलकृष्णले बेचेको थाहा नभएकाले सेन्सर बोर्डमा परेको उजुरीले सेन्सर हुन नपाएको हो ।’ ‘तगारो’का निर्माताले उजुरी हालेपछि आफ्नो फिल्मको सेन्सर रोकिएको उनको भनाई छ ।
सेन्सर नहुँदा नहुँदै रिलिज गर्न खोजेर निर्माण युनिटले कानुनलाई नै च्यालेञ्ज गरेको हो । सोही कानुनी च्यालेञ्जको नतिजा आज निर्माण युनिटले त भोग्यो नै फिल्म हेर्न आएका दर्शकले पनि दु:ख पाए । च्यारेटीमा आएका दर्शकहरूले आफूहरूलाई दु:ख दिएकोमा आक्रोश पोखे ।
यता सेन्सर बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले सेन्सर नगरी फिल्म चलाउन खोज्नु गैरकानुनी रहेको बताउँदै यसरी फिल्म चलाउँदा निर्माण युनिट मात्र नभई हल पनि जिम्मेवार रहने भएकाले यस बिषयमा ध्यान पुर्याउन सम्बन्धित व्यक्ती र क्षेत्रलाई आग्रह गरे ।