मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

भक्कानिंदै स्वेताले हेरिन् `कोहिनुर` | बाबुरामले भने, `सम्हालिनुस्`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
फिल्म चलेको पाचौं हप्तामा अभिनेत्री स्वेता खड्काले `कोहिनुर` हेरिन् । काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको भिअाईपी शोमा स्वेता पहिलो पटक फिल्म हेर्न पुगेकी थिइन् ।
 
 
स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको बारेमा कार्यक्रम संचालक नरेश भट्टराइले भनेका शब्दमा नै स्वेताका आँशु झर्थे । नरेशले श्रीकृष्णको व्यक्तित्वको चर्चा गर्दै गर्दा स्वेता भक्कानिइन् । स्टेजमा पुगेर फिल्म हेर्न आएका अतिथीहरुलाई स्वेताले नमस्कार गरिन् । 
 
आँखामा देखिएको आँशुको टिलपिलाइले स्वेता श्रीकृष्णको संझना र यादमा विछिप्त छिन् भन्ने प्रष्ट देखिन्थ्यो । उनले आफूलाई कयौं पटक सम्हाल्न खोजिन् तर सकिनन् । उनलाई सम्झाउने धेरै देखिए तर सम्हालिन सक्ने अवस्थामा थिईनन् । 
 
फिल्ममा श्रीकृष्ण र स्वेताको भेट एक कोठीमा हुन्छ । हिन्दी गीतमा वाध्यतावश नृत्य गरिरहेकी स्वेतालाई देखेपछि श्रीकृष्णको मनमा माया पलाउँछ, त्यही माया जीवनभर सँगै जीउने कसम खाँदै अगाडि बढ्छ । फिल्मका धेरै संवादले स्वेताको मन झस्क्यायो । 'आमा म मर्न चाहन्न, बाँच्न चाहन्छु' श्रीकृष्णले पर्दामा यसो भनिरहँदा स्वेता मात्र होइन हलमा उपस्थित अन्य अतिथीहरुका पनि आँखा रसाए ।
 
फिल्म भित्र प्रयोग गरिएका थुप्रै संवाद श्रीकृष्णले बोल्दै गर्दा, कथावस्तु र वास्तविकता मेल खाएको छ । जसले गर्दा पनि स्वेता र श्रीकृष्णको परिवारलाई फिल्म हेर्न गाह्रो भएको पक्कै थियो ।
 
फिल्म सकिएपछि स्वेताका आँखा रसाउन छोडेनन् । अभिनेत्री झरना थापा र उनको परिवारले संझाउँदै गर्दा स्वेताको मन थामिएन । फिल्म हेर्न पुगेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले स्वेतालाई मन थाम्न र धैर्य गर्न भने । बाबुरामले थमथमाउँदै गर्दा स्वेता फेरि भक्कानिइन् ।
 
श्रीकृष्णले नेपाली जनतालाई निक्कै राम्रो उपहार दिएर गएको भन्दै भट्टराईले उनी सधैं नै नेपालीको माझ अमर रहने बताए । 'कोहिनूर' आफूले हेरेका मध्येको उत्कृष्ट फिल्मा रहेको बाबुरामको प्रतिकृया थियो । पूर्व सेनापति रुक्मांगत कटुवालले श्रीकृष्ण श्रेष्ठ जस्तो नायकलाई गुमाउनु ठूलो क्षती भएको भन्दै फिल्म स्तरिय बनेको बताए ।
 
फिल्म हेर्न सञ्चारमन्त्री मिनेन्द्र रिजाल, काँग्रेस नेता अर्जुन नरसिंह केसी, नेत्री हिसिया यामी, अभिनेत्रीहरू करिष्मा मानन्धर, गौरी मल्ल, दीपाश्री निरौला, अभिनेता शिव श्रेष्ठ, दीपकराज गिरीलगायत थुप्रै फिल्मकर्मी, राजनीतिकर्मी तथा भद्र भलाद्मीको उपस्थिती थियो । 
 
फिल्मको पर्दामा सँगै हाँसेको, चोखो प्रिती गाँसेको देख्दा श्रीकृष्णको यादमा स्वेतालाई सहन पक्कै गाह्रो भयो । तर पनि करोडौं नेपालीले माया गरेका श्रीकृष्ण सबैको माझ अमर छन् । नेपाली जनताले देखाएको माया र स्नेह अनि श्रीकृष्णको लोकप्रियता नै स्वेताका लागि मन भुलाउने सबैभन्दा ठूलो हतियार बनेको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
भिडियो तथा तस्विरहरू : विनोद पोखरेल