‘नयाँ जोगीले खरानी धेरै घस्छ’ भन्ने उखान नेपाली फिल्मका लागि पनि लागू भएकै छ । विशेषगरी, नयाँ निर्माता र निर्देशक फिल्मको बिषयवस्तु भन्दा पनि अनावश्यक प्रचारमा बढि खर्च गरिरहेका छन् । गुदी कस्तो छ भन्दा पनि बोक्रामा बढी विश्वास गर्ने र बोक्रालाई नै बिकाउन खोज्ने नयाँ मेकर असफल भएको देखिन्छ ।
निर्देशक सुवास कोइरालाले चर्चा गरे अनुसार फिल्म ‘आवरण’ चलेन । ‘आवरण’लाई निक्कै नै फरक बिषयको भनेर नयाँ निर्माता लिएर सुवासले बनाएको फिल्मलाई न दर्शकले रूचाए न समिक्षकले ।
कलाकारबाट निर्देशक बनेका अर्पण थापा र नव निर्माता रविन श्रेष्ठले ‘मुखौटा’का लागि जुन हल्ला गरे सायद यस्तो हल्ला अरुले कमै गरे होलान् । फिल्मको बिषयमा दर्शक र समिक्षकलाई ‘मुखौटा’ चल्नु अघि अत्याधिक प्रतिक्षाको बिषय बन्यो । तर जब फिल्म चल्यो, सबैले नाक खुम्च्याउनु भन्दा बाहेक केही गरेनन् ।
नयाँ मेकरहरु फिल्म वुझेर नै बनाउँछन् या हल्लाका लागि बनाउँछन् वुझ्न गाह्रो देखिन्छ । ‘मुखौटा’को असफलताले बोक्रामा हल्ला गर्ने प्रवृत्ती बढ्दै गएको प्रष्ट देखियो जसको पछिल्लो उदाहरण 'ताण्डव' बनेको छ । ‘ताण्डव’ले पनि बक्स अफिसमा कुनै कमाल गरेन ।
सोसल मिडियादेखि नेपालका अधिकांश संचारमाध्यममा अत्याधिक प्रचार गरिएको ‘ताण्डव’को बिषयवस्तु र प्रस्तुतीमा बेलायती निर्देशक मुर्रे केर चिप्लिए । यसैले पनि अब दर्शकलाई अनावश्यक प्रचार गरिएका फिल्म नराम्रो पो हो कि भन्ने सोच पलाउन थालेको छ । एउटा फिल्मले दर्शक झुक्याउँदा त्यसपछि प्रदर्शनमा आउने थुप्रै फिल्मलाई असर गर्छ ।
उसो त चर्चा गरिएअनुसार नव निर्देशक मिलन चाम्सको ‘हँसिया’ पनि चलेन । बर्षको सुरुवातबाट नै चर्को प्रचार गरिएको फिल्मले बक्स अफिसमा खासै चमत्कार नगरेपछि ‘हँसिया’ पनि हल्ला मै सिमित भयो ।
नेपाली रजतपटमा निरन्तर लागेका र फिल्म वुझेका मेकरहरु कमै मात्र असफल भएको देखिन्छ । तर, नयाँले अनावश्यक हल्ला गर्दा बक्स अफिस नतिजा राम्रो देखिएको छैन । नव निर्माता रोमियन लिम्बु र नव निर्देशक गोविन्द राइले ‘नागबेली’ राम्रो भन्दै गर्दा आशा धेरै पलायो । तर फिल्म हेरेपछि धेरैले गुदी कमजोर भएको विश्लेषण गरे । नयाँ निर्माता सुशिल श्रेष्ठको ‘मेरो भ्यालेन्टाइन’, नयाँ मेकरको ‘शीशा’ जस्ता फिल्म साउनमा असफल भए ।
गत बर्ष सर्वाधिक चर्चा गरिएको नयाँ निर्माता सुमित मैनाली र निर्देशक अनुप बरालको ‘फिटकिरी’ले अगतिलो व्यापार गर्दै गर्दा बर्षको अन्त्यमा बजार बुझेका निर्देशक विकास आचार्यले बनाएको ‘नाई नभन्नु ल २’ सबै रेकर्ड ब्रेक गर्दै चल्यो । अपवादको रूपमा नयाँँ मेकरको 'कबड्डी' र 'नोभेम्बर रेन' चल्यो । अहिले बक्स अफिसमा 'कोहिनूर'ले पैसा छापेको छप्यै छ । यो फिल्मले न धेरै हल्ला गर्यो न ठूला कुरा । अनुभवले दर्शकलाई तानेको विश्लेषण गरियो ।
बर्षमा प्रदर्शनमा आउने सय बढी फिल्ममध्ये ९० फिल्मका निर्माता नयाँ नै छन् । फिल्म बनाउने निर्माताले यो क्षेत्रलाई नवुझ्नु र नयाँ निर्देशकले ‘मुर्गा’ बनाइदिने प्रथा पनि चलिरहेकै छ । वितरक सुनिल मानन्धर भन्छन्, 'फिल्ममा लगानी गर्नु भन्दा अरु नै व्यवसाय गर्दा राम्रो हुन्छ । फिल्मको व्यापारको बिषयमा ठूला कुरा गर्नु हल्ला मात्र हो, भित्री रहस्य अर्कै छ ।’