हाँस्यकलाकार स्वर्गिय साम्दे शेर्पाको नाममा ‘साम्दे शेर्पा राष्ट्रिय पुरस्कार’को स्थापना गरिएको छ । हिमालय शेर्पा सांस्कृतिक केन्द्रले शेर्पाको सम्मानमा पुरस्कार स्थापना गरेको हो ।
केन्द्रले शनिवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ५१ हजार रुपैंयाँ राशीको पुरस्कार स्थापना गरिएको जनाएको छ । ‘नेपाली हाँस्यव्यंग्य क्षेत्रमा काम गरेर चर्चा कमाएका एक हाँस्य कलाकारलाई हामी पुरस्कार दिनेछौं,’केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले भने,‘साम्देको सम्झना दीर्घकालिन रुपमा रही रहनका लागि पुरस्कार स्थापना गरेका हौं ।’ उनका अनुसार आगामी वर्षदेखि पुरस्कार वितरण हुनेछ ।
कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ हाँस्यकलाकार बसुन्धरा भुषालले एउटा हाँस्यकलाकारको सम्मानमा ठूलो रकममा पुरस्कार स्थापना गर्नु आफैमा गर्वको कुरा भएको बताईन् । ‘सायद हाँस्यकलाकारको नाममा नेपालमा पुरस्कार स्थापना भएको यो नै पहिलो हुनसक्छ,’ भुषालले भनिन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले आफु साम्देको फ्यान भएको जनाउँदै उनको क्यारिकेचर गर्ने शैलीको तारिफ गरेका थिए ।
खड्काले एउटा कलाकार वेपत्ता भएको लामो समय बितिसक्दा पनि राज्यबाट खोजीका लागि कुनै पनि पहल नहुनु दुःखपूर्ण भएको बताउँदै उनको खोजी गर्नुपर्नेमा राज्यको ध्यान जानुपर्ने जनाए । अर्का हाँस्यकलाकार राजाराम पौडेलले साम्देसँग काम गर्दाको अनुभव सम्झिए । पौडेलले भने, ‘छोटो समयमा नै चर्चित बनेर सबैको मनमा बस्न सफल साम्देको हँसिलो अनुहार आफैमा रमाइलो थियो ।’ साम्देले थुप्रै नेपाली फिल्ममा अभिनय गरेका छन् ।

