चलचित्र पत्रकार संघको केन्द्रीय कार्यसमितिको शुक्रबारका दिन बसेको बैठकले संघका कार्यसमिति सदस्य किरण खनाललाई संघको साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ । संघको कार्यसमितिको औपचारिक बैठकमा तीन पटक भन्दा बढी लगातार रुपमा अनुपस्थित रहि विना कुनै जानकारी संयुक्त राज्य अमेरिका गएको खुल्न आएपछि संघको अनुशासन उल्लंघन गरेको ठहर गर्दै खनाललाई निस्कासन साथै गरिएको जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।
नेपालमा रहेरै आफ्नो राजीनामा पेश गर्न सक्ने अवस्था हुँदाहुँदै उक्त कार्य नगरी संघले सोधखोज गरेपछि मात्र राजीनामा पठाएको हुनाले संघप्रति जिम्वेवार नरहेको भन्दै साधारण सदस्यसमेत नरहने गरी खनाललाई निश्कासन गरिएको विज्ञप्तीमा उल्लेख छ । बैठकले कार्यसमितिको सुझाव र छैटौं अधिवेशनमा प्राप्त मत संख्याका आधारमा २६ मत प्राप्त गरि छैटौं स्थानमा रहेका सदस्य प्रदिप कार्कीलाई संघको कार्यसमितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
यस्तै संघले २०७१ सालका लागि नविकरण गर्ने कार्य धमाधम भइरहेको र नयाँ सदस्यता लिनका लागि आवदेन दिएका पत्रकारहरुको आवेदन उपर छानविन गर्दै केहि नयाँँ सदस्यहरूलाई संघको साधारण सदस्य दिने निर्णय गरेको छ ।
यसैगरी हेटौंडामा गर्न लागिएको चलचित्र पत्रकार संघको कार्यशाला गोष्ठीमा सहभागी हुन चाहने इच्छुक सदस्यहरुले भाद्र २१ गतेसम्ममा सहभागिता शुल्क बुझाउनका लागि अनुरोध गर्दै उक्त कार्यशाला गोष्ठीका लागि स्थानीय संयोजन गर्ने जिम्मा चलचित्र पत्रकार संघ मकवानपुरलाई दिनुका साथै स्थानीय संयोजकका रुपमा कार्य गर्न हेटौंडा शाखाका सचिव मणिराज गौतमलाई जिम्मा दिने निर्णय गरिएको छ ।