फिल्म ‘रंग बैजनी’मा कलाकार छनोटका बिषयमा रोचक कुरा गर्दै निर्देशक शम्भू प्रधानले सुरुमा आफूले छोरी ईश्वरी प्रधानलाई खेलाउन खोजेको बताए । तर, अमेरिकामा काम गर्दै आएकी छोरी नेपालमा आएर एक महिना फिल्म खेल्न नमानेपछि उनलाई अप्ठ्यारो परेको थियो ।
आज बिहीबार पत्रकारहरुसँग भेटघाट गर्दै १२ बर्षपछि फिल्म नगरीमा फर्किएका शम्भुले भने, ‘छोरी ईश्वरी प्रधान खेल्न राजी नभएपछि मैले चलेका कलाकारलाई खोजेको थिए ।’ फिल्मको सुरुवातमा नै नायिका गरिमा पन्तलाई उनले अभिनय गराउने पक्का गरेका थिए । अर्की चलेकी हिरोइन खोज्दै जाँदा उनको नजरमा सुमिना घिमिरे परेकी थिइन् ।
नायक दिकपाल कार्कीको रोजाइको बिषयमा पनि उनको धारणा रोचक छ । ह्यान्डसम केटा खोज्दै जाँदा उनको नजर दिकपालमा परेको थियो । फिल्मका तीनै कलाकार आफ्ना लागि निक्कै सहज भएको उनको भनाई छ ।
गरिमाले शम्भु प्रधान जस्ता निर्देशकसँग काम गर्दा निक्कै खुशी लागेको भन्दै आफ्नो लागि ‘रंग बैजनी’ विशेष रहेको बताइन् । शम्भु फिल्मको प्रदर्शन मिति केही समय अगाडि सार्ने तयारीमा छन् ।

