Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.43/5.00)
Text size:-
+
-

आँशु झार्दै सुनिलले भने, `ढाका टोपी लगाएर अस्कर अवार्ड चुम्न चाहन्छु`

फिल्मीखबर, काठमाण्डौ, 2014/08/27
जीवनको एउटा उचाइमा पुग्दै गर्दा मानिसलाई आफ्ना आफन्त र साथीभाइले दिएको माया झनै प्रिय हुन्छ । यस्तै भयो चर्चित कलाकार सुनिल थापालाई । बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेर नेपाल फर्किएका सुनिललाई उनका निकट साथीहरुले सम्झिए अनि सम्मान गरे । त्यहि सम्मान र प्रेममा सुनिलका आँखा रसाए ।
 
 
श्रीराम बालाजी फिल्मस्, चलचित्र प्राविधिक संघ र मौरी इन्टरटेन्मेन्टले आयोजना गरेको सम्मान कार्यक्रममा सुनिल एकाएक भावुक बने । स्टेज चढ्नु अघि आफ्ना सहकर्मी र साथीहरुले भनेको कुराले उनलाई भावुक बनाइसकेको थियो ।
 
सुनिलले ‘मेरी कोम’ खेल्नु भन्दा धेरै खुशी आज आफ्ना साथीहरुले सम्झिदा भएको बताए । उनले भने–‘मेरो जीवनमा यस्तो इमोशनल क्षण आउँला भनेर मैले सोचेको थिइन । पर्दामा भिलेन भएर प्रस्तुत हुँदा सबैले गाली गर्थे । त्यो मेरो सफलता र दर्शकले दिएको माया थियो । आज यो अवस्थामा आउँदासम्म सबैको प्रिय हुन सकेको छु । बल्ल आज पूर्ण रूपमा कलाकार भएको महसुश गरें ।'
 
भन्साली फिल्मस्को ब्यानरमा बलिउडकै सफल नायिका प्रियंका चोपडासँग फिल्म खेलेका सुनिलको करिअरमा थुप्रै संघर्षका दिन पनि आए । नेपाली फिल्म ‘चिनो’मा अभिनय गरेपछि सुनिललाई दर्शकले ‘राते काँइला’ उपनामले बढी चिन्छन् । 
 
 
सुनिलको यात्रा बलिउडमा मात्र रोकिने छैन, हलिउडसम्म पुग्ने उनको अठोट छ । उनले भने, ‘म बलिउडलाई मात्र होइन हलिउडलाई पनि नेपालमा प्रतिभावान कलाकार छन् भनेर देखाउन चाहन्छु । ढाका टोपी लगाएर अस्कर अवार्ड चुम्न चाहन्छु । म जिद्दी छु त्यसैले त्यो सफलता छिट्टै पाउने छु .'उनले आफ्नो यो सफलतालाई फिल्म नगरीको सफलतासँग दाँजे ।
 
 '४० बर्ष भयो क्यामेरा अगाडी उभिएको । यो यात्राामा एकदिन पनि उदास बनिन । सधैंं आशावादी बनें', सुनिलले केही सुझाव समेत दिए, 'आफ्नो काममा 'प्यासिनेट' हुनुस् सफलता तपाईंको हातमा हुन्छ । अगाडि बढ्न धैर्यता चाहिन्छ । धैर्यता नभएको मानिस यहाँ नआए पनि हुन्छ ।’ सुनिलले नयाँ पुस्तामाथि ईङ्कित गर्दै भने, ‘यो क्षेत्र केटा र केटी फसाउँने ठाउँ होइन । कसैलाई यो क्षेत्र फोहोरी बनाउने अधिकार छैन ।’
 
 
‘मेरी कोम’मा अभिनय गर्दाको अनुभव पनि उनीसँग वेग्लै छ । मुम्बइबाट यस फिल्मका कास्टिङ डिरेक्टरले फोन गरेर उनलाई ‘मेरी कोम’को कथा र भूमिका सुनाएका थिए । जब उनले हुन्छ भने, केही संवाद पठाएर अभिनय गरेको भिडियो पठाउनु भनियो । सुनिलले पनि साथीहरुको सहायतामा जीममा भिडियो छायांकन गरि पठाए । निर्माता संजयलिला भन्सालीले भिडियो हेरेपछि सुनिललाई मुम्बई बोलाएका थिए ।
 
सुनिलले अनुभव सुनाउँदै भने, ‘सुरुवातमा हामीले दिनमा ४ घन्टासम्म वर्कशपमा सहभागी भयौं । नायिका प्रियंका चोपडा पनि हामीसँगै संवाद बोल्थिन् ।’ बलिउड निक्कै व्यवस्थित र व्यवसायिक भएको उनको भनाई छ ।
 
दिनमा १२ घन्टासम्म छायांकन गरेको अनुभव थापासँग छ । फिल्मको म्यूजिक लञ्च कार्यक्रममा नायिका प्रियंका चोपडाले आफ्नो बयान गर्दै भनेको शब्द उनको मानसपटलमा ताजै छ । नेपालका कलाकार सुनिल थापा निक्कै प्रतिभावान छन्, प्रियंकाले यसै भनेकी थिइन् ।
 
धैर्यताले आफूलाई यहाँसम्म ल्याएको हो भन्छन् सुनिल । 'बलिउड फिल्म छाडेर नेपाली फिल्ममा निरन्तर लागिरहेका सुनिल भन्छन्, बलिउड र हलिउडमा नेपाललाई चिनाउन चाहन्थें त्यसैले नेपाली फिल्ममा कामा गरिरहें । मलाई कुनै लोभ भएन । नेपाली फिल्ममा नै लागिरहन्छु', सुनिलले भने । 
 
 
 
भारतको चर्चित हाँस्य रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’मा गतिलो स्थान नदिएपछि उनी ‘मेरी कोम’ प्रचारका लागि नपुगेको रहस्य समेत खुल्यो । सुनिल थापाले भने, ‘म र फिल्मका अर्का कलाकार कार्यक्रमको अन्त्यमा दर्शकदिर्घाबाट आउनुपर्ने दृश्य थियो । मैले निर्देशकलाई भने, ‘म पनि नेपालको चर्चित र नाम चलेको कलाकार हुँ । अगाडिबाट आएर राम्रै स्थान दिइन्छ भने आउछु नत्र म जान्न ।’
 
कार्यक्रममा नायिका करिश्मा मानन्धर, गौरी मल्ल, वितरक प्रदिप उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, कलाकार विल्सन विक्रम राई, संयम पुरी, फिल्मकर्मी नारायण पुरी, युवराज लामा लगायतले सुनिल थापा एउटा राम्रो मान्छे भएको बताए । उनीहरूले नेपाली फिल्ममा जस्तै बलिउड र हलिउडमा पनि चम्कन शुभकामना दिए । 
 
सुनिलले बलिउडकी सफल नायिका प्रियंका चोपडाको गुरु भएर काम गरेको फिल्म 'मेरी कोम' सेप्टेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ ।