अभिनेत्री पूजना स्त्रीले निर्माण गर्न लागेको फिल्म 'चक्लेट' निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी फिल्म निर्माण गर्न लागेको जानकारी दिईएको हो ।
खुशी गुरुङ, प्रीतिमाया गुरुङ र केशव तामाङको लगानी रहने 'चक्लेट' पूजना फिल्मस्को ब्यानरमा बन्ने छ । चर्चित कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैडा’ले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्मको छायांकन भाद्र १३ गतेबाट सुरु हुने जानकारी गराईयो ।
दरबारमार्गको सडकमा भेटिने बालबालिकाहरुको कथामा बन्न लागेको 'चक्लेट'को निर्माण पूर्व नै लगानी सुरक्षित भएको निर्देशक शर्माले बताए । 'फिल्मको लगानी सुरक्षित गरेर मात्र फ्लोरमा जान चाहन्थ्यौं । त्यसैले पूर्व घोषित समयभन्दा निकै पर आएर सुटिङ गर्दैछौं', निर्देशक शर्माले भने, 'फरक शैलीमा फिल्मा बनाउन लागेकाले पनि गृहकार्य धेरै गर्नुपर्यो ।' उनले बिपन्न र सम्पन्न समुदायको परिवेशलाई फिल्मको केन्द्रविन्दु बनाएको बताए ।
यता दुई बर्ष लगाएर फिल्मको कथा लेखेको बताउँदै निर्माता बन्न लागेकी अभिनेत्री पूजनाले सडक बालबालिकाको मर्मलाई पर्दामा देखाउने प्रस्ट्याईन् । बिगत तीन बर्षदेखि अनाथ बालबालिकाको सेवामा लागेकी पूजनाले आगामी दिनमा पनि बालबालिकाका लागि सधैंं झुकेर सेवा गर्ने बताईन् ।
पहिलो पटक फिल्ममा अभिनय गर्न लागेका पेशाले डाक्टर आयुष्मान घिमिरेले कथा मन परेकाले फिल्ममा काम गर्न इच्छुक भएको बताए । उनले यो फिल्मले समाजमा नयाँँ परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमकी प्रमुख अतिथी सीएनएन हिरो अनुराधा कोइरालाले काठमाण्डौका सडकमा प्रशस्त बालबालिका रहेको बताउँदै उनीहरूको कथामा फिल्म बन्न लागेको खबरले आफू हर्षित भएको भनाइ राखिन् । उनले फिल्मले जनचेतना जगाउन सकोस् भन्ने कामना गर्दै निर्माण युनिटलाई सफलताको शुभकामना दिईन् ।
आफ्नै सहकर्मीले फिल्म निर्देशन गर्न लागेकाले खुसी व्यक्त गर्दै कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले निर्देशक शर्मा सहित टिमलाई नै फिल्मको सफलताको शुभकामना दिए । यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पनि फिल्मको सफलताको कामना गरे ।
फिल्ममा आयुष्मान र पूजनाको साथमा अनुज शाक्य, नम्रता झा, केशव भट्टराई मुख्य भूमिकामा रहनेछन् । यस्तै संचारकर्मी सुमन गैरे विशेष भूमिकामा देखिनेछन् । फिल्ममा आधादर्जन नव बालकलाकारहरुको पनि अभिनय रहनेछ ।
कार्यक्रक्रममा बि सं २०३९ सालदेखि कला क्षेत्रमा सकृय भएर लागेका कलाकार, लेखक तथा सह-निर्देशक कमल मैनालीलाई सम्मान गरिएको थियो । कमलले 'चक्लेट'मा निर्मल शर्मालाई सह-निर्देशनमा सहयोग गर्दैछन् ।