कार्गिल युद्धमा गोर्खाली सेनाले प्रस्तुत गरेको बहादुरीलाई मुख्य बिषय बनाईएको फिल्म 'निशानी' भाद्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसै फिल्मबाट अनु गुरूङले अभिनयको पाईला अगाडी बढाएकी छिन् । 'ब्यूटी पोखरा' नामक सुन्दरी प्रतियोगीतामा सेकेन्ड रनरअपको उपाधी उचालेकी अनु सोच बिना नै फिल्ममा प्रवेश गरिन् । अहिले उनी 'निशानी' फिल्म खेल्न पाउनु आफ्नो लागि 'गुडलक' सम्झिन्छिन् ।
'फिल्ममा आउँछु भनेर सोचेको पनि थिइन', ब्यूटिशियन र शिक्षिकाको अनुभव संगालेकी अनुले भनिन्, 'कलाकार हुने रहर चाँही थियो । 'निशानी'ले रहर पूरा गरिदियो । अब यसलाई पेशा बनाउन चाहन्छु ।'
कलाकारितालाई पेशा बनाउन अभिनयमा दक्षताको खाँचो हुन्छ । यो कुरालाई अनुले पनि बुझेकी छिन् । 'पहिलो फिल्मबाट नै एक्टिङ सिकें र अझै सिक्नु पर्छ भन्ने कुरा बुझें । त्यति मात्र हैन, यो फिल्मले मलाई अभिनय गर्न प्रेरित मात्र गरेन कन्फिडेन्ट हुन पनि सिकायो,' 'निशानी'की 'इनोसेन्ट' पात्र 'गोरी'ले भनिन्, 'भोलिका दिनमा अझै राम्रो गर्न सक्छु भन्ने आँट आएको छ ।'
अभिनय गर्न सोचे जस्तो सहज नभएको अनुको बुझाई छ । 'बाहिरबाट जे देखिन्छ भित्र त्यो रहेनछ ', अभिनय गर्नु पूर्व फिल्म क्षेत्रलाई खासै राम्रो नजरले नहेरेकी अनुले भनिन्, 'यो क्षेत्र साँच्चिकै राम्रो छ । मैले यहाँँबाट 'रेस्पेक्ट' गर्न सिकें । सामाजिक हुन जानें । अनि फिल्म क्षेत्र सम्मानित छ भन्ने कुरा बुझें ।'
कुरा गर्दैगर्दा पोखरेली ठिटी 'निशानी' फिल्मप्रति बढि केन्द्रित भईन् । 'यो एउटा बिशुद्ध नेपाली फिल्म हो', सबैले भन्ने कुरा अनुले पनि दोहोर्याइन् । तर उनले फिल्म हेर्नुपर्ने कारण खोलिन्, 'कथाबस्तु, संगीत, प्रस्तुती, गेटअप, लोकेशन सबै नयाँँ लाग्छन् । यो गोर्खालीको पहिचान पनि हो । यो फिल्म हेरेपछि हामीले गोर्खाली हुनुमा गर्व गर्न सक्छौं ।'

