गत वर्षको हिट फिल्म ‘६ एकान ६’ले नाफा कमाएपछि कलाकार र प्राबिधिकहरूलाई बोनस दिएको छ । आईतवार राजधानीमा फिल्मको 'सक्सेस पार्टी'मा निर्माताले खुसी साट्दै बोनस दिएको हो ।


फिल्म सफल हुनमा सम्पूर्ण प्राविधिक तथा कलाकारको मेहनत रहेको भन्दै रिलिजको ७ महिना पश्चात बोनस बाँड्दा पनि कलाकार र प्राबिधिकहरू निकै खुसी देखिए । बोनस पाएका फिल्मकर्मीले रकम जे जती भएपनि सम्झना र माया नै ठूलो रहेको प्रतिकृया दिए । यस्तै उनीहरूले बोनस बाँड्ने सिस्टमले फिल्म क्षेत्रमा नयाँँ तरंग ल्याउने आश व्यक्त गरे ।
प्राविधिक तथा कलाकारहरुले गरेको मेहनतलाई सम्मान गरौं भन्ने अभिप्रायले बोनस वितरण गरेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए । कार्यक्रममा सम्मान स्वरूप स्व.शिव रेग्मीलाई ५१ हजार रुपैंया प्रदान गर्ने घोषणा गरियो । त्यसैगरी सुनकोशी बाढी पीडितलाई २५ हजार र चलचित्र पत्रकार संघलाई १५ हजार पनि दिने घोषणा गरियो ।
निर्माण युनिटका अनुसार देश तथा बिदेशबाट फिल्मले ७० लाख मुनाफा हात पारेको छ । यसैको सफलताको खुसी साटिरहँदा निर्माता गिरीले 'वडा नम्बर छ' निर्माण गर्ने औपचारिक घोषणा गरे भने वितरक गोपाल कायस्थले 'वडा नम्बर छ' निर्माणका लागि एड्भान्स स्वरूप रू. एक लाखको चेक निर्माता गिरीलाई दिए ।
यता कार्यक्रममा निर्देशक दिनेश डिसी र अभिनेत्री नीता ढुंगाना भने उपस्थित भएनन् । कार्यक्रममा निर्मातासँग सुमधुर सम्बन्ध नबनाएका डिसी र उनी निकट अभिनेत्री ढुंगाना उपस्थित नहुँदा माहोल गर्मिएको थियो ।

