अभिनेता हरिवंश आचार्यले अहिलेको पुस्ता भाग्यमानी भएको बताएका छन् । पोखरामा आयोजित बिग आइकनको पाँचौ संस्करणका बिजेतालाई पुरस्कृत गर्न पोखरा पुगेका आचार्यले यस्तो धारणा राखेका हुन् । ‘अहिलेको पुस्ता साँच्चिकै भाग्यमानी छ । किनकी आजको पुस्ताले यसरी सानो उमेर देखिनै एक्स्पोजर पाएको छ जुन हाम्रो जमानामा सम्भव थिएन,’ आचार्यले भने ।
त्यसैगरी अर्का अभिनेता मदनकृष्ण श्रेष्ठले पनि हरिवंशको भनाईमा समर्थन जनाउँदै रियालिटी शो ठूलो प्लेटफर्म भएको धारणा राखे । ‘ यस्ता प्रतियोगिता कलाकारका लागि ठूला मन्च हुन् । हरि मेरो पालामा यस्तो थिएन,’ मदनकृष्ण श्रेष्ठले भने । पोखराको सभागृहमा सम्पन्न प्रतियोगितामा श्रीमति रमिला पाठक सहित उपस्थित हरिवंश आचार्यले टोकन अफ लभ बाँड्दै ठट्यौली पनि गरे ।
‘तपाईंहरुलाई यो काठको टोकन अफ लभ । मेरो चाहिँ श्रीमति नै टोकन अफ लभ हुन् जुन सासु ससुराले दिनुभएको छ,’ आचार्यले ठट्टा गरे । विगत पाँच वर्षदेखि पोखरास्थित बिग एफले आयोजना गर्दै आएको गायन प्रतियोगितामा मुस्ताङका कुन्साङ गुरुङ विजेता घोषित भए । ‘विग आइकन’को उपाधिसँगै उनले १ लाख ५० हजार मूल्य बराबरको स्कुटर हात पारे । प्रतियोगितामा चितवन सन्दीप ढुंगाना सेकेण्ड रनरअप र धरानका राम लिम्बु र हेम्जाकी ल्हामो डलकर थर्ड रनर अप भए ।

