निर्मात्री अभिनेत्री रेखा थापाले निर्देशक श्याम भट्टराईसँग माफी मागेकी छिन् । निर्माता संघका अध्यक्ष राजकुमार राईको रोहबरमा रेखाले श्यामसँग ‘हिम्मतवाली काण्ड’का लागि माफी मागेकी हुन् । रेखासँगै श्यामले पनि आइन्दा रेखाको विषयमा जथाभावी नबोल्ने सहमति गरेका छन् । निर्देशक श्याम भट्टराईले फेसबुकमा निर्माता संघका अध्यक्ष राजकुमार राईको रोहबरमा भएको सम्झौताको प्रतिलिपी पोष्ट गर्दै रेखासँगको सहमतिलाई सार्वजनिक गरेका हुन् ।
रेखा र श्यामको झगडा जसरी नाटकीय रुपमा बाहिरिएको थियो सहमति पनि त्यसरी नै अनपेक्षित रुपमा बाहिरिएको छ । किनकी केही दिन अघिसम्म पनि दुवै एक अर्कालाई सिध्याउने खेलमा जोड तोडले लागेका थिए । त्यसो त रेखाले कलाकार तथा निर्माता निर्देशकसँग झगडा गर्ने कुनै नयाँ कुरा होइन । रेखाको झगडालु स्वभावको बारेमा केही महिना अघि एउटा प्रतिष्ठित साप्ताहिक पत्रिकाले खबर नै छापेको थियो । र त्यसमा रेखाले झगडा गरेका व्यक्तिहरुको फेहरिस्त नै थियो ।
रेखाले झगडा गरेका व्यक्ति मध्येको पछिल्लो लिस्टमा सामेल थिए निर्देशक श्याम भट्टराई । महेन्द्रनगरमा ‘हिम्मतवाली’ फिल्मको सुटिङबाटै श्याम भट्टराईलाई गलहत्याएर निकालेपछि रेखा र श्यामको दन्तबझान सुरु भएको थियो जुन केही दिन अघि सम्म पनि जारी नै थियो । श्याम र रेखाको झगडाको पराकाष्ठा निर्देशक समाजको साधारण सभामा देखिएको थियो ।
श्याम भट्टराईले निर्देशक समाजले आफ्ना सदस्यको संरक्षणका लागि काम नगरेको आरोप लगाएपछि दिनेश डिसीले मञ्चबाटै रेखाले निर्देशक श्याम भट्टराईले महिला कलाकारमाथि दुव्र्यव्हार गरेको भिडियो सुरक्षित रहेको भनेका कारण कारवाही अगाडि बढाउन नसकेको स्पष्टिकरण दिएका थिए । त्यसको प्रतिउत्तरमा श्यामले आफू माथिको आरोप प्रमाणित भए कार्यक्रममा आत्महत्या गर्ने धम्की दिएका थिए ।
तर अचानक १८० डिग्रिमा आएर भएको यो सहमतिले धेरैलाई उत्सुक बनाएको छ । माफी माग्नु र माफी दिनु संसारकै सुन्दर कुरा मध्ये एक हुन् । माफी दिने –माग्ने रेखा र श्यामले बाँकी दिनमा पनि यो स्प्रिट कायम राखून् शुभकामना ।

