.jpg)
अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं पुण्यतिथीमा श्रद्धाञ्जली स्वरूप आफूले लेखेको कविता बाचन गर्न सुरु मात्र के गरेका थिए डिजाइनर तथा गीतकार सुन्दर श्रेष्ठ एकाएक भकानिए । कविता वाचन गर्दै गर्दा भक्कानिएपछी उद्घोषक दिनेश डीसीले उक्त कविता पूरा वाचन गरेर सुनाए । सुन्दरले लेखेको कविता सुनेपछी उपस्थित सबैको आँखा रसाएका थिए । सुन्दरले लेखेको कविता यस्तो छ -
कस्तो जन्म पायौ ‘श्री’ दुनियाकै प्यारो
तिम्रो निधन सुन्दा खेरी, पत्याउनै गाह्रो ।।।
आमा बाउको कान्छो छोरा, आँखाको थ्यौ नानी
सबैसित हाँस्ने बोल्ने, नबिझाउने बानी
सम्झनामा आउँदै तिमी, घरि घरि रुवायौ
मानव सागर मलामी थे, सलामी नै पायौ
असंख्यको भीडमा पनि, एउटै मान्छे तारो
तिम्रो निधन सुन्दा खेरी पत्याउनै गाह्रो ।।।
राम्रालाई नै लाँदो रैछ कालले छानी छानी
लोकप्रिय थियौ तिमी, प्रतिभाकै खानी
छोटो आयु भनुँ भने अजम्बरी भयौ
बुढी आमा एक्लै छाडी, झुक्याएर गयौ
अरुले त विर्सन्छन् कि संगीनलाई साह्रो
तिम्रो निधन सुन्दा खेरी, पत्याउनै गाह्रो ।।।
खुशी थिए नव जोडी, चुँडी लग्यौ एउटालाई
निष्ठुरी पो रैछन् हरे, के भनुँ खै देउतालाई
राम्रालाई नै स्वर्ग भए ‘श्री’ तिम्लाई स्वर्गै मिलोस्
यहाँ जस्तै स्वर्गमा नि, तिम्रो सधै कृती फैलोस्
श्रद्धाञ्जली दिदाँ तिम्लाई, बग्छ आँसु धारो
तिम्रो निधन सुन्दा खेरी पत्याउनै गाह्रो ।।।

