बलिउड अभिनेता अनुपम खेर राजधानी आएका छन् । बिहीबार ११ बजेको फ्लाइटबाट राजधानी झरेका अनुपम खेर शुक्रबार आर्मी अफिसर्स क्लबमा मञ्चन हुने ‘कुछ भि हो सकता है’ शीर्षकको नाटक लिएर आएका हुन् । अनुपम खेरको एकल प्रस्तुति रहने नाटक बालबालिकाको क्षेत्रमा काम गरिरहेको ‘कोसेली’ फाउण्डेसनको सहयोगार्थ हुन लागेको हो ।
सुन्धारास्थित सिने डे सेफमा पत्रकार सामु प्रस्तुत हुँदै अनुपमले बच्चाका लागि सहयोग जुटाउन नाटक लिएर आएको बताए । ‘म बच्चाकालागि सकेको जे गर्न पनि तयार छु । कोसेली फाउण्डेसनले सय भन्दा बढी बालबालिकालाई आश्रय दिईरहेको रहेछ । उनीहरुलाई केही सहयोग होस भनेर नाटक लिएर आएको हुँ । मैले यो नाटक कोसेलीका लागि निःशुल्क गर्न लागेको हो । मेरो यो सानो सहयोगले उनीहरुको भविष्य निर्माणमा टेवा पुग्यो भने मलाई खुशी लाग्नेछ,’ अनुपम खेरले भने ।
‘कुछ भि हो सकता है’ अनुपम खेरको आफ्नै जीवनमा आधारित नाटक हो । नाटकमा साधारण परिवारमा जन्मेर बलिउडमा स्थापित हुने मानिसको कथा बुनिएको छ । उनले आफ्ना असफलताले नाटक जन्माएको बताए ।
‘१० वर्ष अघि म हर तरहका असफलताले घेरिएको थिएँ । मानसिक रुपमा, आर्थिक रुपमा सबैतिर भाँच्चिएको थिएँ । यही समयमा मलाई एउटा प्रकाशन गृहले आत्मकथा लेख्न आग्रह गर्यो । केही घण्टा रेकर्ड पनि भए तर त्यही बेला मैले जस्तो असफलता अरुले पनि भोगिरहेका छन् भन्ने अनभूत भयो । यो कुरालाई मैले कलात्मक तवरले भन्न सकें भने धेरै मानिसलाई प्रेरित गर्न सक्छु भन्ने लागेर यो नाटक तयार भएको हो,’ खेरले नाटकको पृष्ठभूमि बताउँदै भने । उनले नाटक ३२८ पटक मञ्चन भईसकेको जानकारी गराए ।
तीन दिनको समय लिएर आएका खेरले राजधानी बसाईका क्रममा पशुपति मन्दिरको दर्शन गर्ने, बौद्ध स्तुपा हेर्ने र ठमेल जाने कार्यक्रम रहेको जानकारी गराए । खेर शनिबार मुम्बई फर्कने कार्यक्रम छ ।

