स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पूर्ण कदको प्रतिमा काठमाण्डौको कमलादिस्थित प्रज्ञा भवनमा राख्नु पर्ने माग गरिएको छ । श्रीको परिवारले उनको सम्मानका लागि नेपाल सरकारसँग यस्तो माग राखेका हुन् ।


श्रीकृष्णको १३ औं दिनको पुण्यतिथीको अवसरमा बिहीबार राजधानीको नयाँँ बजारस्थित एक पार्टी प्यालेसमा आयोजित श्रद्धाञ्जली सभामा निकै भावविह्वल हुँदै श्रीका दाजु मिनकृष्ण श्रेष्ठले भने, 'सरकारले भाइलाई ठुलो सम्मान दिईसकेको छ । हाम्रो अरू केही माग छैन । उसको पूर्ण कदको प्रतिमा राख्ने ठाउँ मिलाई दिए मात्र पुग्छ । बाँकी हामी आँफै गर्छौ ।'


मिनले श्रीले प्रज्ञा भवनमा नै आफ्नो जीवन विताएकाले उसको सम्मानका लागि श्वेता (श्रीकी श्रीमती)को पनि यही इच्छा भएकाले यस्तो माग गरेको बताए । मिनले थपे, 'श्रीका प्रशंशकको पनि उसको प्रतिमासँग टाँसिएर फोटो खिच्ने इच्छा छ । त्यसैले सबैको यो इच्छालाई सरकारले पूरा गरिदिए श्रीको आत्माले पनि शान्ती पाउने छ ।'


यता श्रीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफ्नो तर्फबाट श्रीको प्रतिमा प्रज्ञा भवनमा राख्न पहल गर्ने बताए । प्रतिमा राख्ने निर्णय गर्न आफ्नो मन्त्रालयलाई अधिकार नभएपनि श्रीलाई दिईएको राष्ट्रिय सम्मानको निर्णय आफूले गर्न पाएकोमा मन्त्री रिजालले खुशी व्यक्त गरे ।


श्रीको १३ औं दिनको पुण्यतिथीमा फिल्मकर्मीले उनको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । दर्जनौं फिल्मकर्मी र शुभचिन्तक श्रीलाई श्रद्धाञ्जली दिन नयाँ बजार पुगेका थिए । यता श्रीकी श्रीमती स्वेताको भने कार्यक्रम अवधिभर निरन्तर आँशु बगिरहेको थियो । स्वेताको निरन्तर बगिरहेका आँशुले माहोललाइ निकै स्तब्ध बनाएको थियो ।

