बलिउडका चर्चित अभिनेता अनुपम खेर बिहीबार काठमाडौं आइपुगेका छन् । ट्विटरबाट आफू काठमाण्डौ आएको जानकारी गराउँदै खेरले नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन् ।
.jpg)
अनुपम काठमाडौंको शान्तिनगरस्थित कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका छोराछोरीलाई सहयोग जुटाउन गरिने च्यारिटी शोमा सहभागी हुन काठमाडौं आएका हुन् ।काठमाडौं ओर्लानासाथ अनुपमले शान्तिनगरस्थित कोशेली फाउन्डेसनमा पुगेर त्यहाँ राखिएका बालबालिकालाई भेटे र उनीहरूलाई भेट्न पाउँदा खुसी समेत व्यक्त गरे ।
नेपाली सेनाको मूख्यालय भद्रकालीस्थित अफिसर क्लबमा शुक्रबार अनुपमकै जीवनीमा आधारित चर्चित नाटक 'कुछ भि हो सकता हे'को मञ्चन हुँदैछ । आफ्नो नाटकको च्यारिटी शोका क्रममा अनुपमले आफ्नो जीवनका अनुभव पनि सुनाउने बताईएको छ । उनको शोमा नेपालका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुने बुझ्नमा आएको छ ।
अनुपमले कलर्स च्यानलमा 'कुछ भि हो सकता हे' नाममा एक शो सञ्चालन समेत गर्दै आएका छन् । उक्त शोमा बलिउडका हस्तिहरूको संघर्षको जिवनकथालाई प्रस्तुत गर्ने गरिएको छ ।

