सामान्यतया फिल्मको कथा तयार गरेपछी उक्त कथासँग सुहाउँदो संगीत तयार गरिन्छ । फिल्म 'यो कथा हो तिम्रो मेरो'को हकमा यो परम्परा चलिआएको भन्दा भिन्न देखियो । निर्देशक तथा लेखक ओम प्रतिकले फिल्मको संगीत तयार गरेर सोही संगीतसँग मिल्दो कथा तयार पारेको बताए ।
फिल्मीखबरसँगको भेटमा निर्देशक तथा लेखक प्रतिकले 'यो कथा हो तिम्रो मेरो' साँगीतिक फिल्म भएको बताउँदै कथा लेख्दा संगीतलाई आधार बनाएको बताए । पारिवारिक प्रेमकथामा बनेको यो फिल्मको स्क्रिप्ट लेखन कार्य पनि बिगतका भन्दा फरक रहेको उनको भनाइ थियो ।
'मैले यसअघि बन्द कोठाभित्र कथा लेख्ने गरेको थिएँ तर यसपाली खुल्ला बातावरणमा निस्केर लेखें जसले गर्दा बिगतका भन्दा यसपालीको कथामा नयाँं स्वाद दिन सकेको छु', प्रतिकले भने, 'फिल्मको हरेक सिन नयाँँ बातावरणमा बसेर सिर्जना गरें । दर्शकले जस्तो कथा चाहन्थे त्यो यसपाली दिन सक्छु जस्तो लागेको छ ।'
घुमफिरकै क्रममा नुवाकोटको थाङ्सिङ फाँटमा पुगेर 'यो कथा हो तिम्रो मेरो'को क्लाईमेक्स सिन तयार परेका प्रतिकले थपे, 'कथा लेखनको क्रममा थुप्रै ठाउँमा पुगें । त्यहाँको बातावरण र समुदायसँग नजिक भएर नयाँँ कुराहरू बुझ्ने मौका पाएँ । आफूले बुझेका कुराहरुलाई कथानक बनाएँ । आज त्यही कथा फिल्मको रूपमा आएको छ । 'यो कथा हो तिम्रो मेरो' मेरो मात्रा नभई आम नेपालीको कथा हो । '
सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको फिल्म 'यो कथा हो तिम्रो मेरो' यही भाद्र १३ गते रिलिज हुँदैछ । फिल्ममा सुमन सिंह, रिस्ता बस्नेत, रवि कार्की, गणेश उप्रेती, रुपा राना, ओम प्रतीकलगायतका कलाकारहरुको अभिनय रहेको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको फिल्ममा विकास चौधरीको संगीत छ । फिल्मका निर्माता रमेश प्रजापति, राम बुढाथोकी र अनिल हेक्का हुन् ।

