शनिबार राति साढे ९ बजे पोखरा हल्लनचोकको क्लब ९९ बारमा चर्को आवाजले गीत बज्दै थियो । ‘नाचु नाचु लाग्छ किन, हाँसु हाँसु लाग्छ किन’ भन्दै अभिनेत्री पुजना स्त्रीले कम्मर मकाईरहेकी थिईन् । पोखराको डान्स बारमा पुजनाको नाच ? मान्छेहरु अचम्मित भए । उताबाट कोरियोग्राफर शिवम् पोखरेलले ‘कट्’ भन्ने आवाज दिए । गीत रोकियो र सेट मिलाउन थालियो । बाहिरी मानिसले बल्ल चाल पाए, ‘सुटिङ पो रै’छ’ भन्ने ।
नेपाली फिल्म ‘छेस्को’को लागि आईटम नम्बरको सुटिङ भैराखेको थियो । कोरियोग्राफर शिवम्, टेक्निसियन संगै सेट मिलाउनमा प्रोडक्शन डिजाईनर सागर महतलाई पनि भ्याईनभ्याई थियो । चार जना भर्खरका ठिटाहरु पनि पुजनासँगै काँधमा काँध मिलाएर उफ्रिँदै थिए । बार भरिका मानिसहरु पुजनाको नाच हेर्दै चिच्याईरहेका थिए । निर्देशक सुरेश थापा भने आनन्दले कुनामा सुटिङ हेर्दै बसिरहेका थिए ।
‘कोरियोग्राफिको सम्पूर्ण जिम्मा मैले शिवमजीलाई नै दिएकोले अहिले फ्रि भएको छु,’ निर्देशकले भने–‘जे होस् आईटम नम्बर निकै राम्रो हुने मैले अपेक्षा गरेको छु ।’ एघार दिन अगाडि सुटिङ शुरु भएको फिल्म ‘छेस्को’को सुटिङ करिब अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । दिन रात गरि छायाँकन गरेको कारण साविक भन्दा छिटो फिल्मको छायाँकन सकिएको उनले बताए ।
टिनएजमा साथीभाईको लहैलहैमा लाग्दा सानो घटनाले पनि निकै ठुलो रुप लिन सक्छ भन्ने कुरा फिल्मको स्टोरी लाईन हो । टिनएजर्स सहपाठीको रुपमा फिल्ममा राजन कार्की, रवीन वैद्य, अंजित खड्का, रोहनसन प्रजु, पवित्रा आचार्य लगाएत देखिएका छन् । पुजना स्त्री भने फिल्मको आईटम गीतमा मात्रै नाचेकी छन् । दुर्गा विष्टको लगानीमा बनेको फिल्म चाँडै नै प्रदर्शनमा ल्याउने निर्माणपक्षले जनाएको छ ।
पोखरेली लगानी रहेको फिल्ममा पोखराका स्थानिय कलाकारसँगै काठमाण्डौबाट पनि कलाकारहरु मगाईएको निर्माण यूनिटले जानकारी दियो । धेरैजसो काठमाण्डौकै प्राविधिकहरु रहेको फिल्मबाट मोफसल र केन्द्रलाई जोडेर निकै राम्रो काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने निर्देशकले बताए । गणेश श्रेष्ठको छायाँकन रहेको फिल्ममा राम कार्कीले संगीत भरेका छन् ।

