नेपाली फिल्ममा ‘राते काइँला’को नामले चिनिने चर्चित अभिनेता सुनिल थापाको बलिउड अभिनेत्री प्रियंका चोपडाले खुलेर प्रसंसा गरेकी छिन् । सञ्जयलीला भन्सालीद्धारा निर्मित तथा उमंग कुमार निर्देशित फिल्म 'मेरी कोम'को अडियो लन्च कार्यक्रममा प्रियंकाले सुनिललाई नेपालको चर्चित र कुशल कलाकार भन्दै प्रसंसा गरेकी हुन् ।
भारतीय बक्सिङ खेलाडी एमसी मेरी कोमको जीवनीमा आधारित 'मेरी कोम' अभिनेत्री प्रियंकाले सुनिल आफ्नो कोचको भूमिकामा रहेका बताउदै थापाको कामबाट आफू प्रभावित भएको बताईन् । 'थापा सर हार्ड वर्कर डेडिकेटिङ एक्टर हुनुहुन्छ’, प्रियंकाले जिस्कदै थपिन्, 'दारीजुँगा काट्नु भएछ, असाध्यै ह्यान्डसम र योङ देखिनुभएको छ ।'
यता सुनिलले पनि प्रियंकाको कामको तारिफ गरे । उनले कार्यक्रममा सामेल भएकी बक्सर एमसी मेरी कोमलाई आगामी एसियन गेममा सफलताका लागि शुभकामनासमेत दिएका थिए । फिल्म आगामी सेप्टेम्बर ५ तारिकका दिन रिलिज हुँदैछ ।

