कलाकारिता गरिरहेका र कलाकारितामा आउन चाहनेहरुका लागि पोखरामा ‘अभिनय अभ्यास’ कार्यशाला हुने भएको छ । दैनिक हुने कार्यशालामा कलाकारहरु दुई घण्टासम्म एक ठाउँमा जुटेर अभिनयको अभ्यास गर्नेछन् । रंगकर्मी महेश भाजुले कार्याशालाको लागि संयोजन गरेका छन् ।
‘यो नितान्त कलाकारहरुको लागि ग्याप महशुस नहोस् भन्ने हेतुले हामीले यसो गर्न लागेका हौँ,’ भाजुले भने–‘कुनै संघसंस्था गठन गरेर भन्दा पनि स्वतस्फूर्तरुपमा कलाकारहरु आएर सिक्न र सिकाउन सक्ने गरि कार्याशाला शुरु गर्न लागेका हौँ ।’ जुन सुकै उमेर समुहका कलाकारहरु पनि कार्याशालामा आउन सक्ने उनले जानकारी दिएका छन् ।
कलाकार बन्न चाहने यूवापुस्ता पोखरामा पछिल्लो समय बढेकै कारणले हाल कलाकारितामा सक्रिय रहेकाहरुले यस्तो खालको कार्यशालाको संयोजन गरेका हुन् । नयाँ कलाकार उत्पादनमा यो कार्यशालाले विशेष जोड दिएको अर्का कलाकार अम्बर सुवेदीले बताए । त्यो बाहेक कलाकारहरुबिच सुमधुर सम्बन्धको विकास पनि कार्यशालाको अर्को उद्देश्य रहेको उनले सुनाए । कार्यशाला आईतबारदेखि शुरु हुनेछ ।

