प्रशान्त तामाङ अभिनित फिल्म ‘निशानी’को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माणपक्षले प्रचारप्रसारलाई तिव्र पारेको छ । निर्माणपक्षले ठाउँ ठाउँमा पत्रकार सम्मेलन गर्दै फिल्मको बारेमा जानकारी गराउँदै आएको छ । निर्माणटोलीले विहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै फिल्म निकै राम्रो बनेको दाबी गरेको छ ।
प्रशान्त तामाङको समेत सहभागिता हुने भनिएको पत्रकार सम्मेलनमा तामाङ भने उपस्थित भएनन् । विहिबार विहानैदेखि परेको झरीले प्रशान्तलाई पत्रकार सम्मेलनमा सहभागी हुन रोक्यो । यद्यपी पत्रकार सम्मेलनमा फिल्मका अन्य कलाकारहरु सुरज रानाभाट, विष्णु चेम्जोङ, अनु गुरुङ सहित निर्माता सरोज भण्डारी र निर्देशक विनोद सेरेङ उपस्थित थिए ।
पत्रकार सम्मेलनमा निर्देशक सेरेङले फिल्म उत्कृष्ट बनेको दाबी गर्दै नेपाली दर्शकले फिल्मलाई माया गर्ने आशा व्यक्त गरे । ‘यो फिल्मले नेपाली समाजको चित्रण गरेको छ, जुन विषयले नेपालीहरुको मन छुन्छ,’ निर्देशकले भने–‘लाहुरे सँस्कृतिमा बनेको फिल्महरुले यसअघि देखाएको व्यापारले पनि यो कुरालाई पुस्टी गर्छ ।’
यता पहिलोपल्ट निर्माणमा हात हालेका सरोज भण्डारी पनि फिल्मबाट निकै आशाबादी देखिए । ‘एउटा उत्कृष्ट फिल्ममा लगानी गर्न पाउँदा खुशि छु,’ उनले भने–‘नाफा कमाउनुभन्दा पनि दर्शकले मन पराईदिनु मेरो लागि ठुलो कुरा हुनेछ ।’ फिल्ममा प्रचारप्रसारसहित करिब ८० लाख रुपैँया खर्च भएको उनले बताए ।
भारतमा समेत सेन्सर पास भएको फिल्म निशानी नेपालसहित भारतका हलहरुमा समेत प्रदर्शन हुने सोहि क्रममा जानकारी गराईयो । फिल्ममा प्रशान्त तामाङ लाहुरेको भुमिकामा देखिएका छन् । यसअघि प्रशान्तले खेलेको पहिलो फिल्म गोर्खा पल्टन ब्लकबस्टर भएको थियो । जुन फिल्ममा पनि प्रशान्त लाहुरेको भुमिकामा देखिएका थिए ।
विहिबारको पत्रकार सम्मेलनमा प्रशान्त सहभागि नभएपनि साँझ अक्सिजन बारमा हुने साँगीतिक कार्यक्रममा उनको प्रस्तुती भने रहनेछ । फिल्मको प्रचारकै लागि गरिएको साँगीतिक कार्यक्रमको क्रममा फिल्मकी नायिका विष्णु चेम्जोङको पनि प्रस्तुती रहने सोहि क्रममा जानकारी दिईयो । फिल्म निशानी भदौ २७ गतेबाट देशव्यापी रिलिज हुँदैछ ।

