Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

हलमा भदौरे भेल

फिल्मीखबर, काठमाडौं, 2014/08/14

भदौको मुखमा शहर निरन्तरको पानीले भिजेको छ । भदौ लागेसँगै सिनेमा हलमा पनि फिल्मको बाढी आउने निश्चित छ । किनकी भदौ महिनामा मात्र दर्जन फिल्म रिलिज हुँदैछन् । संख्यात्मक हिसाबले एक साथ यति धेरै फिल्म रिलिज हुनु राम्रो होइन त्यसमाथि सम्भावना बोकेका सबै चलचित्र एकै महिना रिलिज हुँदा बाँकी दिनमा नेपाली सिनेमा दर्शकको चासो भन्दा पर रहने सम्भावना छ ।

भदौको पहिलो हप्ता तीन फिल्म रिलिज हुँदैछन् । ‘ठूली’, ‘सम्बोधन’ र ‘ताण्डव’ । तीनमध्ये ‘ठूली’ परम्परागत ढर्राको फिल्म भएपनि ‘सम्बोधन’ र ‘ताण्डव’ भने नयाँ विषय र परक सोचका साथ निर्माण भएका फिल्म हुन् । फिल्म ‘सम्बोधन’ले आफूलाई ‘पोलिटीकल थ्रिलर’को प्रस्तुत गरिरहेको छ भने ‘ताण्डव’ मा सिमामा हुने अपराधको विषयलाई देख्न सकिन्छ । यि दुवै फिल्मका समान विशेषता के पनि हुन् भने दुवै फिल्मका निर्देशकले आ आफ्ना पहिला फिल्मबाट सम्भावना देखाएका छन् ।  ‘सम्बोधन’का निर्देशकले यसअघि ‘होस्टल’ बनाएर आफूलाई प्रमाणित गरिसकेका छन् भने बेलायती निर्देशक मुर्रे केरले ‘सिक सिटी’ मार्फत आफूलाई उत्कृष्ट साबित गरिसकेका छन् । फिल्मले कस्तो व्यापार गर्लान् आफ्नो ठाउँमा छ तर समग्र फिल्मले नेपाली फिल्म उद्योगलाई केही न केही योगदान गर्नेछन् । यसमा शंका छैन ।



भदौ १३ मा पनि तीनवटा फिल्म मैदानमा आउने भने पनि ‘नाइके’ मैदानबाट हटेको खबर छ । यसो हुँदो भदौ १३ मा ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’ बीच भिडन्त हुनेछ । ओम प्रतिकको निर्देशन रहेको फिल्म ‘यो कथा हो तिम्रो मेरो’ले सिंगल स्क्रिन दर्शकलाई चित्त बुझाएपनि ‘उत्सव’लाई धेरैले आशाको नजरले हेरेको चलचित्र हो । थुप्रै फिल्मको पटकथा लेखनपछि निर्देशनमा होमिएका कुमार भट्टराईले निर्देशन गरेको यो फिल्मको ट्रेलरले पनि फिल्मको लक्षित दर्शक तय गरिसकेको छ । गीत र फाइटको सूत्रवद्धताबाट मुक्त हुनु नै  नेपाली फिल्मका लागि सकारात्मक पक्ष हो र उत्सवले यो सम्भावना देखाएको छ ।



भदौ २० मा पनि उस्तै सम्भावना बोकेका दुई फिल्म प्रदर्शनमा आउँदैछन् र संयोगवश दुवै फिल्म अभिनेताले निर्माण गरेका हुन् । ‘बिर्खेलाई चिन्छस्’ र ‘स्टुपिड मन’ निर्माता क्रमशः सुवास थापा र निरज बराल हुन् । ‘बिर्खेलाई चिन्छस्’ले साधारण मान्छे हिरो बन्ने कथालाई प्रस्तुत गरेको छ भने ‘स्टुपिड मन’ प्रेमकथामा बनेको फिल्म हो । थाइल्याण्डमा सुटिङ गरेको तथा फिल्मका गीतले चर्चा पाईरहेको हुँदा ‘स्टुपिड मन’ले पनि आफूलाई अपेक्षित चलचित्रको कोटीमा उभ्याईसकेको छ ।

 


भदौको अन्तिम साता भने ‘निशानी’ र ‘पुन्टे परेड’ आउँदैछन् । समग्रमा दुवै फिल्मको कथा फरक छ तर प्रस्तुति के हुनेछ त्यसले यिनको भविष्य निर्धारण गर्नेछ । यसरी भदौमा फिल्मको भेल मात्र आउनेछैन । नयाँ सोच र नयाँ विषयको परिक्षा पनि हुनेछ । परिक्षामा को पास हुन्छन् र को फेल चाँडै थाहा हुन्छ ।
 

Most Visited News (monthly)