कलाकारिताको उत्तराद्र्धमा पुगेपछि कलाकारहरुका लागि धेरै विकल्प बाँकी रहन्नन् । निर्देशक बन्ने वा निर्माता यस्तै केही सिमित विकल्प मात्र बाँकी रहन्छन् । नेपालमा भने धेरै हिरोहरुले निर्देशन भन्दा पनि निर्माता हुने विकल्प रोजेको पाईन्छ । नेपालमा हिरो निर्माता हुने चलनको सुरुवात कर्ता हुन् भुवन केसी ।
भुवन केसीले आफ्नो अभिनय कालमा कलाकारका रुपमा थुप्रै हिट फिल्म दिए । तर जब १८ वर्षअघि ‘करोडपति’ मार्फत फिल्म निर्माणमा आए निर्माताको रुपमा पनि दमदार सुरुवात गरे । ‘करोडपति’ वर्षकै सुपरहिट फिल्म गनियो । त्यसयता भुवन केसीले ‘सुपरस्टार’,‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’, ‘साथी म तिम्रो’ जस्ता फिल्म निर्माण गरिसकेका छन् र चाँडै ‘ड्रिम्स’ र ‘ करोडपति २’ निर्माण गर्ने घोषणा गरेका छन् ।
उनले निर्माण गरेका फिल्मको सफलताका ग्राफ निकाल्दा असफल भन्दा सफल फिल्मकै संख्या बढी देखिन्छ त्यसैले कलाकार झैं भुवन केसी निर्माताको रुपमा पनि सफल देखिएका छन् । युवतीहरुसँगको असन्तुलित सम्बन्धका कारण सार्वजनिक जीवनमा बदनाम भएपनि निर्माताको रुपमा भुवन केसीको सफलता प्रेरणादायी छ ।
भुवन केसीको यही सफलतालाई पछ्याउँदै नेपाली फिल्म थुप्रै हिरोहरु फिल्म निर्माणमा सक्रिय रहेका छन् । भर्खरै दिवंगत भएका श्रीकृष्ण श्रेष्ठ पनि भुवन केसी झैं सफल कलाकारसँगै निर्माताको सूचीमा अटाएका छन् । जम्मा दुई फिल्म निर्माण गरेका श्रीकृष्णका दुवै फिल्मले सफलता प्राप्त गरेपछि श्रीकृष्ण श्रेष्ठ पनि निर्माताको रुपमा सफल रहेको अनुमान लगाउन सकिन्छ ।
अभिनयको करिअर धरापमा पर्न लागेपछि चकलेटी नायक आर्यन सिग्देलले पनि ‘नोभेम्बर रेन’ मार्फत निर्माणमा हात हालेका थिए । पहिलो प्रयासमै उनले पनि सफलता पाए । ‘नोभेम्बर रेन’ले आर्यनलाई निर्माताको रुपमा मात्र सफलता दिलाएन रेखा थापाको ब्यानरभन्दा बाहिर हिट फिल्म दिन नसकेको लोदर पनि कटायो ।
पछिल्लो समय ‘कुसुमे रुमाल २’बाट अभिनय यात्रा थालेका निरज बरालमा पनि अभिनयसँगै निर्माण पनि सक्रिय भएर ‘स्टुपिड मन’ मार्फत पर्दामा आउँदैछन् । फिल्मका गीत हिट भएका छन् र फिल्म पनि हिट भए हिरोका फिल्म हिट हुने श्रृंखलामा ‘स्टुपिड मन’ पनि थपिनेछ । फिल्म भदौ २० मा देशभर रिलिज हुँदैछ ।

