अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई सरकारी सम्मान सहित आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लाखौं शुभचिन्तक सहित मन्त्री नेता एवं फिल्मकर्मीले उनलाई अन्तिम श्रदान्जली दिएका थिए । काठमाडौँ आसपासका शुभचिन्तकले शवयात्रामा सहभागी भएरै श्रीलाई श्रद्दान्जली दिइरहँदा उनले निर्माण एवं अभिनय गरेको अन्तिम फिल्म 'कोहिनूर' हेर्न देशभरका हलमा समेत दर्शक पुगेर उनलाई श्रद्दान्जली दिइरहेका छन् ।
.png)
शुक्रबारबाट रिलिजमा आएको फिल्मले ओपनिङ्ग सामान्य गरे पनि फिल्मको सकारात्मक प्रतिक्रियाले गर्दा शनिबार उत्कृष्ट कलेक्सन गर्न सफल भएको थियो । आइतबार श्रीकृष्णको निधनको खबर सुनेपछि भाबुक बनेका दर्शक हलमा गएर श्रीकृष्णलाई अन्तिम पटक पर्दामा हेरिरहेका छन् । आइतबार देशभरनै उच्च कलेक्सन गरेको फिल्मले सोमबारबाट अझै धेरै दर्शकको माया पाउन सफल भएको छ । पूर्वमा लगातार पाँच दिन बन्दको बावजुद पनि राम्रो व्यापार गरिरहेको फिल्मले आजबाट बन्द खुले पछि अझ आक्रामक व्यापार गर्न सफल भएको छ ।
पूर्वका मेजर स्टेसनको रुपमा रहेको धरानको गणेश टाकिज, दमकको पाथिभरा चलचित्र मन्दिर र बिर्तामोडको कृष्ण टाकिजमा आज फिल्मले १ लाख माथिको व्यापार गरेको छ भने पथरी, झुम्का लगायतका साना स्टेसनमा समेत फिल्मले ५० हजार माथि कलेक्सन गरेको छ । फिल्म हेर्न दर्शकको ठुलो भिड हलमा जम्मा भएको थियो । धेरै दर्शक टिकट नपाएर फर्केका थिए ।
जसरी भए पनि श्रीकृष्णले छोडेर गएको अन्तिम सिर्जनालाई हेर्ने प्रतिक्रिया दर्शकले दिएका थिए । फिल्म हेरिसके पछि दर्शकले नेपाली फिल्म उद्योगले एक होनहार इमान्दार फिल्मकर्मीलाई गुमाएको बताए । फिल्मले आजको कलेक्सन जोड्दा देशभरमा १ करोड माथि ग्रस व्यापार गर्न सफल भएको छ । फिल्म नै उत्कृष्ट बनेको हुनाले दर्शकको भिड अझै बढ्ने हल संचालक एवं वितरकहरु बताउँछन् ।

