गत शनिबार मुम्बईको करोलबाग स्थित गंगाराम अस्पतालमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रीकृष्णका जेठा दाइ रामकृष्ण श्रेष्ठले दागबत्ति दिनुअघि नेपाल सरकारका मन्त्रीहरु मिनेन्द्र रिजाल र प्रकाशमान सिंहले नेपालको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । त्यसलगत्तै पुलिसको टुकडीले सलामी दिएर उनप्रति सम्मान प्रकट गरेको थियो । रामकृष्णले करिब ९ बजे राती दागबत्ति दिएका थिए ।


.jpg)
शनिबार राती एक बजे भारतको गंगाराम अस्पतालमा निधन भएका श्रीकृष्णको शव सोमबार मध्यान्न मात्र नेपाल आईपुगेको थियो । आइतबार कानुनी प्रक्रिया पूरा नहुँदा शव ल्याउन एक दिन ढिला भएको हो । मध्यान्न २:५५को एअर इण्डियाको जहाजबाट श्रीकृष्णको शव नेपाल आउने खबर पाएपछि एअरपोर्टमा फिल्मकर्मी तथा प्रशंसकको भीड लागेको थियो । एअरपोर्टबाट श्रीकृष्ण शवलाई तीनकुने, नयाँ बानेश्वर माइतीघर, पुतलीसडक हुँदै प्रज्ञाप्रतिष्ठान ल्याईएको थियो । यो क्रममा हजारौं मानिसले सडकको दायाँ बायाँ उभिएर श्रीकृष्णलाई श्रद्धा सुमन अर्पण गरेका थिए ।



अभिनेता श्रीकृष्णको शवलाई प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा राखेर श्रद्धाञ्जली अर्पण गराउने कार्यक्रम थियो । तर भीड थेगिनसक्नु भएपछि शवलाई केही बेरमात्र राखेर आर्यघाट तर्फ लगिएको थियो । शव आर्यघाट तर्फ लग्नुअघि गृहमन्त्री बामदेव गौतम तथा अन्य राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जलीका लागि थुप्रै फिल्मकर्मी पुष्पगुच्छा लिएर बसेका भएपनि भीड व्यवस्थित हुन नसक्दा धेरैले श्रद्धाञ्जली दिन नपाएको गुनासो गरेका थिए ।


पारिवारिक श्रोतले जानकारी गराए अनुसार दाइ रामकृष्ण श्रीकृष्णको किरियापुत्री बस्नेछन् । र म्हेपीस्थित श्रीकृष्णको घरमै मृत्युसंस्कारका बाँकी विधि सम्पन्न हुनेछन् । ६ जना दाजुभाइ मध्ये श्रीकृष्ण सबैभन्दा कान्छा रहेको पनि श्रोतले बतायो ।

