सरकारले अभिनेता श्रीकृष्ण श्रेष्ठलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । सरकारले उनको अन्तिम बिदाइमा पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने र नेपाल प्रहरीबाट सलामी दिने निर्णय गरेको हो । सरकारबाट प्राप्त सूचना अनुसार। सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले स्व. अभिनेता श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने छन् भने नेपाल प्रहरीले स्व. श्रीकृष्णको शवलाई पशुपति आर्यघाटमा सलामी दिनेछ ।
स्व. श्रीकृष्णलाई राष्ट्रिय सम्मान दिइनु पर्ने माग गर्दै निर्देशक आकाश अधिकारी, चलचित्र विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापा, अर्का निर्माता बाबुराम दाहाल, सञ्चारकर्मी प्रकाश सुवेदी लगायतको टोलीले सोमबार सञ्चार मन्त्री रिजाल तथा गृहमन्त्री गौतमलाई भेटको थियो । सो भेटमा सञ्चारमन्त्री रिजालले प्रधानमन्त्री सुशिल कोइराला अस्वस्थ रहेकाले स्व.श्रीकृष्णको अन्तिम संस्कारमा सहभागी हुन नपाउने जानकारी दिंदै राष्ट्रलाई योगदान दिने कलाकारलाई राज्यले सम्मान दिने बताए । त्यस्तै गृहमन्त्री गौतमले पनि योगदानको मापन गरेर कलाकारलाई राज्यले सम्मान दिने बताएका थिए ।
एक सय बढी नेपाली फिल्ममा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको साउन २५ गते शनिबार राती भारतको दिल्लीस्थित उपचाररत मंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भएको थियो । श्रीकृष्णको शवलाई आज (साउन २७ गते) दिउँसो २ बजे नेपाल ल्याइदैछ । त्रिभुवन विमानस्थलदेखि शोक धुन बजाउँदै श्रीकृष्णको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि कमलादीस्थित प्रज्ञा भवन प्रतिष्ठानमा केही समय राखिनेछ । त्यसपछि साँझ पाँच बजे पछाडी पशुपती आर्यघाटमा नेपाल प्रहरीको सलामीबाट श्रीकृष्णलाई अन्तिम बिदाई गरिनेछ । एक महिना अगाडी मात्रै अभिनेत्री श्वेता खड्कासँग बिहे गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको असमायिक निधनले सारा मुलुक शोकमा डुबेको छ ।

