अघिल्ला आधा दर्जन फिल्म निर्देशन गर्दा नपाएको चर्चा निर्देशक योगेश घिमिरेले फिल्म ‘नोटबुक’बाट पाए । चर्चाको आधार बन्यो फिल्मको संगीत । फिल्ममा संगीतको त्यही महत्व बुझेका योगेश शनिबारदेखि सुटिङ थालेको फिल्म ‘भुलभुलैया’ मा पनि संगीतलाई सशक्त बनाउने प्रयास गरेका छन् ।
बालाजुमा सेट लगाउँदै ‘झयाप्प...’ बोलको गीतबाट छायांकन थालेका योगेशले गीतमा सोहित मानन्धर र नीता ढुंगानालाई नचाएका छन् । बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा कविराज गहतराजले सोहित र नीतालाई नचाएका हुन् ।
फिल्ममा जीवन लुईटेलको पनि अभिनय रहेको छ । ‘काफल पाक्यो’ फिल्मको सुटिङमा व्यस्त रहेका जीवनले भदौ ३ देखि ‘भुलभुलैया’को सुटिङ थाल्ने निर्देशक घिमिरेले जानकारी गराए । दिनेश पोखरेलको प्रस्तुतिमा निरज ढकाल कार्यकारी निर्माता रहेको फिल्मलाई सुशिल कार्की, सुरेश गौतम र मणिराज दाहालको लगानी रहेको छ । फिल्मले चैत २३ गतेलाई प्रर्दशन मिति तोकेको छ ।

