बलिउडमा बादशाहको रुपमा परिचित अभिनेता शाहरुख खान नेपाल आउने भएका छन् । शाहरुख ब्रान्ड एम्वेसडर रहेको नेरोल्याक पेन्ट्सले खानलाई नेपाल ल्याउने भएको हो । सोही उद्धेश्यका लागि कम्पनीले ‘डान्स विथ डन’ अफर सार्वजनिक गरेको छ । सो अफरमा विजेता बन्नेले शाहरुखसँग नृत्यको अवसर प्राप्त गर्नेछन् ।
कम्पनी प्रवक्ताले भनेका छन्, ‘शाहरुख नेपाल आउने पक्का भएका छ । शाहरुख नेपाल आएको खण्डमा उनको नेपाल भ्रमण पहिलो हुनेछ । शाहरुख र दीपिका पादुकोण अभिनित पछिल्लो फिल्म ‘ह्याप्पी न्यू इयर’ अक्टुबर २४ तारिखमा प्रदर्शन हुँदैछ । सम्भवतः शाहरुले आफ्नो फिल्मको प्रचार प्रसार समेत गर्नेछन् ।
उसो त यसअघि ‘किक’ अभिनेता सलमान खान र आइटम गर्ल राखी सावन्त पनि नेपाल आउने भन्ने प्रचार गरिएको थियो । विइङ ह्युमनको नेपाल शाखा विस्तारमा सलमान नेपाल आउने भनी प्रचार गरिएको थियो भने राखीले रंगशालामा उधुम मच्याउने खबर थियो । सलमान र राखी आउने खबर प्रचारमा मात्रै सिमित भयो । शाहरुख नेपाल आउने भनिएको समयमा ‘ह्याप्पी न्यू इयर’को रिलिज समय पर्ने भएकाले उनी आउने कुरा पनि गफमा मात्रै सिमित रहने हो कि भन्ने शंका व्यक्त गर्न सकिन्छ ।

