आज साउन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘कोहिनूर’ को विशेष शो गरिएको छ । कमलादीस्थित कुमारी हलमा आयोजना गरिएको ‘कोहिनूर’ को बिहानी शोमा फिल्म युनिट, सञ्चारकर्मी तथा अन्य केही फिल्मकर्मीको उपस्थिति रहेको थियो ।


आकाश अधिकारीको कथा तथा निर्देशन रहेको ‘कोहिनूर’लाई विशेष शोमा हेर्नेले फिल्म प्राविधिक रुपमा उत्कृष्ट बनेको र दर्शकको मन छुने कथावस्तु रहेको प्रतिक्रिया दिए । ‘कोहिनूर’ मा श्रीकृष्ण श्रेष्ठ र श्वेताको मुख्य भूमिका छ । नेपाली चेली बम्बईको कोठीमा कसरी पु्र्याइन्छन् ? त्यहाँ उनीहरुले कस्तो समस्या भोग्नु पर्छ ?
कोठीबाट फर्किएपछि बेचिएका चेलीलाई हेर्नेनजर कस्तो छ ? चेलीबेटी बेच्नमा मुख्य हात कस्को हुन्छ ? र, यस्तो कार्यमा संलग्नहरुले कस्तो सजाय भोग्नु पर्छ ? जस्ता कुराको जिज्ञासा मेट्न हलमै गएर ‘कोहिनूर’ हेर्नुपर्ने हुन्छ । ‘कोहिनूर’ मा सुन्दर दृश्य र सुमधुर संगीत समावेश छन् । फिल्म देशका झन्डै ६० वटा पर्दामा प्रदर्शनरत छ ।

