रजतपटमा एकै साथ प्रदर्शनमा आउने फिल्म ‘ताण्डव’ र ‘सम्बोधन’ बाट नेपाली रजतपटमा दुई नव नायकको उदय हुँदैछ । र्यापर आशिष राना ‘लाउरे’ र स्ववियु सभापति विनय भट्टले क्रमशः ‘ताण्डव’ र ‘सम्बोधन’ मा अभिनय गरेका छन् ।
अभिनय भन्दा फरक क्षेत्रमा सक्रिय लाउरे र सभापति भट्टले दर्शक दीर्घामा छोड्ने छापलाई पनि यतिबेला फिल्म नगरीमा महत्वका साथ हेरिएको छ । आफ्नो क्षेत्रमा सफल र चर्चित मानिएका र्यापर लाउरे र राना सभापति भट्टले दर्शकको मन जित्लान् ? के यी दुइको अभिनयले नेपाली फिल्ममा निरन्तरता पाउला ?
फिल्ममा यी दुईको भूमिका, अभिनय क्षमता, दर्शक प्रतिक्रिया र सिङ्गो फिल्मले पाउन व्यवसायिक सफलता र प्रतिक्रियाले फिल्मप्रतिको निरन्तरतालाई निर्धारण गर्नेछ । बेलायती नागरिक मुर्रे केर निर्देशित फिल्म ‘ताण्डव’ मा र्यापर लाउरे नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा उनले अभिनेत्री नम्रता श्रेष्ठसँग रोमान्स गरेका छन् ।
त्यस्तै ‘होस्टेल’ निर्देशक हेमराज विसीले निर्देशन गरेको फिल्म ‘सम्बोधन’ मा विनयले पनि अभिनेत्री नम्रता श्रेष्ठसँगै रोमान्स गरेका छन् । एउटै अभिनेत्रीसँग रोमान्स गरेका यी दुई नव नायकको आगामी फिल्मी करिअर कस्तो होला ? भदौ ६ गते फिल्म रिलिजसम्म प्रतिक्षा गर्रौ ।

