चलचित्र विकास वोर्डले विशेष फिल्मको मान्यतालाई पुनः कार्यन्वयनमा ल्याएको छ । विचमा विविध कारणले रोकिएको विशेष फिल्मको मान्यतालाई आवश्यक महसुस गर्दै पुनः कार्यन्वयनमा ल्याइएको विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले बताए ।
अध्यक्ष मोरवैताका अनुसार ०७१ सालको बैशाख महिनादेखि नै सेन्सर पास भएका फिल्महरु मध्येबाट एउटा फिल्मलाई विशेष दिने भन्ने निर्णय कार्यान्वयन ल्याउने निर्णय भएको थियो । तर, ब्युँतिएपछि हालसम्म एउटै पनि फिल्मले विशेष फिल्मको मान्यता पाएका छैनन् । विशेष फिल्मको मान्यता पाउने फिल्मले विकास वोर्डबाट २ लाखसम्मको प्राविधिक सहयोगका लागि रकम पाउनेछन् ।
त्यस्तै चलचित्र विकास वोर्डले फिल्मकर्मीको हितको लागि एम्बुलेन्स पनि किन्ने भएको छ । विकास वोर्डले खरिद गर्ने उक्त एम्बुलेन्सले कलाकार दुर्घटना एवं बिरामी पर्दा अस्पतालसम्म पुर्याउने छ । एम्बुलेन्स खरिदका लागि १५ लाख रकम छुट्याइएको वोर्ड अध्यक्ष मोरवैताले बताए ।
यो वर्षको भदौ महिनासम्ममा एम्बुलेन्स खरिद भइसक्नेछ । कलात्मक र सांस्कृतिक मूल्य मान्यता बोकेका फिल्मलाई सहयोग गर्ने मनसायले स्थापित विशेष फिल्मको मान्यतालाई बीचको समयमा पहुँचवालाले दुरुपयोग गरेपछि बोर्ड विशेष फिल्मको मान्यतालाई स्थगित गरेको थियो । विशेष फिल्मको मान्यता पाउने फिल्मले क्यु सिस्टम रहँदा प्रर्दशनमा समेत अग्राधिकार पाउने व्यवस्था थियो ।

