पोखरामा पाँच दिन कलर ग्रेडिङ कार्यशाला सुरु भएको छ । कलरिस्ट सुदीप श्रेष्ठले सहभागिहरुलाई फिल्मको रङ, रङले व्यक्त गर्ने मनोविज्ञान, अर्थ, आवश्यकता र प्रयोगबारे सिकाइरहेका छन् । कार्यशालामा पोखरामा रहेर फिल्म निर्माण, म्युजिक भिडियो र टेलिभिजनमा कार्यरत दर्जन बढी सहभागि भएको सुदीप श्रेष्ठले जानकारी गराएका छन् ।
प्रशिक्षक तथा कलरिस्ट श्रेष्ठले कार्यशालाले पोखरामा हुने फिल्म निर्माणको गुणस्तर र स्तरियतामा वृद्धि हुने बताए । ‘गुणस्तर फिल्म, म्युजिक भिडियो र विज्ञापनका लागि रङ नभई नहुने तत्व हो,’ उनले भने, ‘यसबारे पर्याप्त ज्ञान नहुँदा गुणस्तरमा कमी आएको छ ।’ केही समय अघि राजधानीमा कार्यशाला सम्पन्न गरेका श्रेष्ठले कलरिङलाई प्राज्ञिक रुपमा अघि बढाउन जरुरी रहेको बताए ।
‘एकेडेमिक कोर्स दिन सक्ने हो भने व्यवसायिक रुपमा अघि बढ्न सकिन्छ,’ उनले भने । दुबईको ताम्बी स्टुडियोमा कार्यरत श्रेष्ठले ७० भन्दा बढी फिल्ममा कलर ग्रेडिङ गरिसकेका छन् । अढाइसय विज्ञापनमा कलरिङको कला देखाएका श्रेष्ठद्धारा कलरिङ गरिएका फिल्म ‘ताण्डव’ र ‘सम्बोधन’ एकसाथ भदौ ६ गते रिलिज हुँदैछन् ।

