Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ बर्षिय बालकले फिल्म निर्देशन गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2014/08/06
आठ बर्षिय बालकले फिल्म निर्देशन गर्ने भएका छन् । कक्षा २ मा पढ्ने अभिनेता गजित विष्टका छोरा सौगातले ‘लभ यू बाबा’ नामक फिल्म निर्देशन गर्ने भएका हुन् । बुवा विष्टको कथा रहेको फिल्म ‘लभ यू बाबा’ को प्रेसमिट गर्दै निर्माणको औपचारिक घोषणा गरियो ।
 
 
कार्यक्रममा बाल निर्देशक सौगात विष्टको बोल्ने शैलीले ध्यान खिच्यो । सौगातले फिल्म निर्देशन गर्ने हिम्मत कसरी जुट्यो ? भन्ने विषयमा बेलिविस्तार लगाए । सौगातले भने, ‘मेरो बाबा एक्टर । फिल्म खेलेर अवार्ड पाउनु भयो । दिदीले पनि फिल्म खेलेरै अवार्ड पाउनु भयो । काकु (काका) डान्सर । उहाँले पनि नाचेर अवार्ड पाउनु भयो । मैंले चाहिं के गरेर अवार्ड पाउने त ? फिल्म निर्देशन गरेर अवार्ड पाउँछु भनेर फिल्म निर्देशन गर्न लागेको हुँ ।’ 
 
सौगातले फिल्म निर्देशन र क्यामेरा एङ्गल फिल्म ‘जन्मभूमि’ मा अभिनय गर्दा सिकेको बताए । उनले भने, ‘जन्मभूमि खेलेर घर फर्किएपछि सुरुमा बाबालाई फिल्म निर्देशन गर्छु भन्दा पत्याउनु भएन । पछि बाबाले ‘हुन्छ’ भनेर फिल्मको कथा लेख्नु भयो । फिल्मलाई राम्रो बनाउनेछु ।’
 
 
बाल निर्देशक सौगातका बुवा अभिनेता गजित विष्टले छोरोले फिल्म निर्देशन गर्ने कुरा सुरुमा पत्यार नलागेको सुनाउँदै भने, ‘अध्ययन गरेपछि मात्रै छोरोले फिल्म निर्देशन गर्न सक्छ भनेपछि कथा लेखेको हुँ । पैसा भएर फिल्म निर्माण गर्न लागेको होइन । छोरोको प्रतिभामाथि लगानी गर्न लागेको हुँ ।’
 
सबैभन्दा कान्छो निर्देशक भनी ‘गिनिज वल्र्ड रेकर्डस्’ मा समेत नाम लेखाउने प्रक्रियाको प्रयास भैरहेको समेत गजितले जानकारी दिए । चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले फिल्म उत्कृष्ट बनेमा विकास बोर्डले २ लाख रुपैयाँ सम्मको सहयोग गर्ने वचन दिए । ‘लभ यू बाबा’ मा कास्टिङ निर्देशन गरेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सौगात असाधरण क्षमता भएको भनी बयान गरे । 
 
 
फिल्म ‘लभ यू बाबा’ मा सम्झना पोखरेलको लगानी रहनेछ । निर्मात्री सम्झना गजितकी पत्नी हुन् । फिल्ममा रोशनी बज्रचार्यको सह-निर्माण रहनेछ । गम्भिरको पटकथा तथा सम्वाद रहेको फिल्ममा गजित विष्टसँगै छोरी संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल, अर्जुन गुरुङ, राजु बजाज, सुरेन बसेल लगायतको अभिनय रहनेछ । 
 
अभिनेत्री अनु शाह र सञ्चारकर्मी निर्देशक सुव्रत आचार्य अतिथि भूमिकामा प्रस्तुत हुँदैछन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने ‘लभ यू बाबा’ मा स्वरुपराज आचार्य, डेनि निर्रौला, दीपक शर्मा र प्रदीप बास्तोलाको संगीत छ ।
Most Visited News (monthly)