Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सुटिङ सकिने वित्तिकै श्रीकृष्ण विरामी` : आकाश अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2014/08/05
साउन २३ गते फिल्म ‘कोहिनूर’ देशभरबाट प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनको संघारमा निर्माता तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि अभिनेत्री श्वेता खड्का समेत श्रीकृष्णको उपचारमा दिल्लीमा छिन् । लेखक तथा निर्देशक आकाश अधिकारी फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारमा एक्लै लागि परेका छन् । ‘कोहिनूर’, श्रीकृष्ण र श्वेताको विषयमा आकाश अधिकारीले गरेको कुराकानी उनकै शब्द शैलीमा ।   
 
श्रीकृष्ण र श्वेताजी नेपालमा भैदिएको भए पक्कै पनि मलाई यस प्रकारको धपेडी पर्ने थिएन होला । तर, निर्देशक भएपछि चुनौतीलाई आत्मसाथ गर्दै आफ्नो दायित्व निभाउन तयार हुनुपर्छ । फिल्म ‘काठमाण्डू’ को सबै पक्ष नै मैले सम्हालेको थिएँ । निर्माण, निर्देशन, अभिनयदेखि काठमाण्डौं प्रदर्शनको जिम्मा समेत म एक्लैले लिएको थिएँ । त्यसैले ‘कोहिनूर’को यो जिम्मेवारी सहज रुपमा सम्हालि रहेको छु । श्री र श्वेता जीको आफन्तले पनि साथ दिइरहनु भएको छ । शुभचिन्तक र ‘कोहिनूर’ मा आवद्ध सम्पूर्ण कलाकार तथा प्राविधिकले मलाई साथ र सहयोग दिइरहनु भएको छ । यो साथले  गर्दा ‘कोहिनूर’ ले ‘काठमाण्डू’ र ‘कहाँ भेटिएला’ को सफलतालाई दोहोर्याउँछ भन्ने मलाई विश्वास छ । 
 
सुटिङको धुलोले गर्दा होला श्रीजीको घाँटीमा ‘एलर्जी’ देखिएको थियो । नेपालमै पनि त्यसको उपचार भइरहेको थियो । श्रीजीको स्वास्थ्य त्यती ठिक नभएपछि ‘कोहिनूर’ को सबै पक्ष म हेर्छु भनेको थिएँ । मैले त्यसअनुरुप नै काम गर्दै गएँ । जब हामी डविङको लागि बम्बई पुग्यौं, श्रीजीले त्यहाँ मलाई पहिलो पटक बिहे गर्ने कुरा गर्नुभयो । नेपाल आएपछि बिहेको मिति तय भएर बिहे पनि सम्पन्न भयो । बिहेपछि उहाँहरुले दश दिन घुम्न निस्कन्छु भन्नुभयो । मैले ‘हुन्छ रमाइलो गरेर फ्रेस भएर फिल्म प्रचारको लागि फर्कनुस्’ भनें ।
 
घुमघामसँगै ‘कोहिनूर’ प्रदर्शनको लागि इन्डिया हुँदै मलेसिया, थाइल्यान्ड जाने उहाँहरुको योजना थियो । दुःखको कुरो श्रीजीको घाँटीको ‘एलर्जी’ फेरी बल्झिएछ । एलर्जी बल्झिएपछि दिल्ली फर्केर श्रीजीको उपचार गरेको भन्ने खबर पाएँ । यो सुन्दा धेरै नै नरमाइलो लाग्यो । एलर्जी ठिक भएर फिल्म रिलिजको बेलामा नेपाल आउने योजना थियो । नेपाल फर्केपछि श्री र श्वेता जीलाई सँगै राखेर प्रेसमिट गर्ने योजना थियो । तर श्रीजीलाई निमोनिया भएपछि अहिले दिल्ली अस्पतालमै उपचार भइरहेको छ । फिल्म रिलिजको दिन आइसक्यो । हल हलमा पुगेर दर्शकसँग फिल्म हेर्ने श्री र श्वेता जीको चाहना थियो । अव स्वास्थ्य नै ठिक नभएपछि कसको के लाग्छ र ? 
 
कुनै पनि निर्माता, निर्देशक या कलाकारले आफु बिरामी भएको बाहाना बनाएर फिल्मको सस्तो लोकप्रियता खोज्छ जस्तो मलाई लाग्दैन । जहाँ सम्म फिल्म बजारमा थप फिल्म प्रचार प्रसाको लागि श्रीजी बिरामी भएको बाहाना पारियो भन्ने हल्ला छ, त्यो एकदमै गलत हो । यस्तो कुनै पनि हालतमा हुनै सक्तैन । श्रीजी बाहिरी ब्यानरको फिल्मको प्रचार प्रसारमा पनि हिड्न चासो देखाउने व्यक्ति हो । ‘कोहिनूर’ त आफ्नै व्यानरको फिल्म हो । म उहाँलाई राम्रोसँग चिन्छु । श्रीकृष्ण श्रेष्ठ बिरामी भएर ‘कोहिनूर’ को थप प्रचार प्रसार खोज्यो भन्नु सरासर गलत हो ।
 
‘कोहिनूर’ यो विशुद्ध पारिवारिक फिल्म हो । यसलाई म साँगीतिक प्रेम कथाको फिल्म पनि भन्न रुचाउँछु । पछिल्लो समय परिवारसँग बसेर हेर्न मिल्ने थोरै मात्रै नेपाली फिल्म बनिरहेका छन् । ‘कोहिनूर’ पनि परिवारसँग बसेर हेर्न मिल्ने थोरै नेपाली फिल्म मध्येको एक हो । राज्यले रोजगारी दिन नसक्दा विदेश जान बाध्य भएका नेपाली र त्यहाँ पाउने दुःख कष्टलाई ‘कोहिनूर’ ले देखाएको छ । विशेषगरी छोरीलाई वैदेशिक रोजगारमा सहज छैन । वैदेशिक रोजगारमा जाँदा छोरीले आफ्नो चरित्रिक समस्यादेखि हरेक कुराको जोखिम उठाउनु पर्छ । विदेशमा यस्ता घटना कसरी घट्छन् ? राज्यले के गर्नुपर्छ ? भन्ने जस्ता कुरालाई ‘कोहिनूर’ मा महसुश गर्न सकिन्छ । 
 
समग्रमा भन्नुपर्दा ‘कोहिनूर’ फिल्म नेपालदेखि बम्बई र बम्बईदेखि नेपालसम्मको यात्राको कथा हो । यो यात्रामा धेरै घटना घट्छन् । थ्रिल, सस्पेन्स, रोमान्स र शशक्त एक्सनको दृश्यलाई फिल्म ‘कोहिनूर’ मा देख्न सकिन्छ  । ‘कोहिनूर’ सिमित दर्शकको लागि बनाइएको फिल्म होइन । हरेक वर्ग, क्षेत्र र उमेर समुहका दर्शकको लागि ‘कोहिनूर’ निर्माण भएको छ । यो धार या त्यो धार भनेर हामीले छुट्याएका छैनौं । नेपाली समाजको कथालाई फिल्ममा मुख्य रुपमा उठाइएको छौं । नेपाली दर्शकको चाहना अनुरुप ‘कोहिनूर’ बनेको छ ।
 
‘कहाँ भेटिएला’पछि श्री र श्वेता जी निर्माता भएको फिल्म ‘कोहिनूर’ प्रदर्शनमा आउँदै । फिल्म छायाँकनमा जानु पुर्व उहाँहरु निर्माताको रुपमा हुनुहुन्थ्यो । जब फिल्मको छायाँकन सुरु भयो त्यसपछि उहाँहरु दुवै कलाकारको रुपमा रहनु भयो । कथाको माग र निर्देशकको भावनालाई बुझेर उहाँहरुले आफ्नो भूमिकालाई निभाउनु भएको छ । श्रीकृष्ण श्रेष्ठ आफैंमा राम्रो कला भएको कलाकार हो । उहाँलाई डान्स र द्धन्द्धको राम्रो ज्ञान छ । 
 
श्वेताजी पनि आफ्नो क्यारेक्टरलाई न्याय गर्न सक्ने कलाकार हो । उहाँले आफ्नो भूमिकालाई न्याय गर्नु भएको छ । फिल्ममा श्री र श्वेताजीको राम्रो जोडी जमेको छ । जसरी ‘काठमाण्डू’, आकाश अधिकारी, ‘कहाँ भेटिएला’, श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्कालाई माया गर्नुभयो त्यसरी नै फिल्म ‘कोहिनूर’ लाई पनि दर्शकले माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
 
कथा, प्रस्तुती र प्राविधिक रुपले ‘कोहिनूर’ पृथक र उच्च स्तरको बनेको छ । नेपाली दर्शक र बजार क्षमतालाई ‘कोहिनूर’ ले मध्यनजर गरेको छ । साउन २३ गतेदेखि हलमा गएर ‘कोहिनूर’ हेरी प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।
 
Most Visited News (monthly)