Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्दिरालाई `चोली गायिका`को आरोप

फिल्मीखबर, काठमाडौं, 2014/08/04

‘मलाई हिजोआज चोली गायिका भन्न थालेका छन्’ फिल्म ‘लुट’ को गीत उध्रेको चोली गाएकी इन्दिरा जोशीले भनिन्, ‘यो गीत गाउँदा ममाथि धेरै आरोप लागे । म आलोचना सहेर बसिरहेकी छु ।’ मन्डला थिएटरमा आयोजित चिया गफमा गायिका जोशीले यस्तो भनाई राखेकी हुन् । चिया गफमा नेपाली संगीतको अवस्था माथि भएको बहसका क्रममा जोशीले यस्ता धारणा राखेकी हुन् । 

 

संगीतमाथि भएको छलफलमा शम्भुजित बाँस्कोटा, निमा रुम्बा र इन्दिरा जोशीले संगीतको बजार, फिल्म र पुस्तान्तरणको गफ गरे । नेपाली संगीत ‘ट्रायल एन्ड इरर’ फेजमा रहेको भन्दै स्टाइलिस गायिकाले अनलाइन मार्केटले बजार विस्तार गरेको धारणा राखिन् । ‘गलत त केही भएको छैन तर अनलाइन मार्केट विस्तार भएको छ,’ केही समयअघि विकृतिले भरिएका गीत नगाउने वाचा गरेकी जोशीले भनिन्, ‘जेनेरेसनले रुचाउने कुरालाई विकृति भन्न मिल्दैन ।’ 

 

पपगायक निमा रुम्बा गीतलाई लिएर संस्कृतिप्रति केही सचेत देखिए । ‘परिवर्तन पनि चाहियो तर, संस्कृतिले पचाउने किसिमले परिवर्तन गर्नुपर्छ । यसो गर्दा विकृतिलाई नियन्त्रण पनि गर्न सकिन्छ,’ अभिनेता समेत रहेका निमाले सुनाए । पाका संगीतकार शम्भुजित बाँस्कोटाले संगीत नभएर शब्द मात्र विकृत रहेको बताए । ‘चोलीके पिछे क्या हे...', 'उध्रेको चोली...' गाइएका छन् । 'हे संगीता...' गाउँदा संसदमै कुरा उठ्यो र ममाथि आरोप लागे । तर, परिवर्तनका लागि यस्ता गीत नगाई हुँदैन’ बाँस्कोटाले बचाव गरे । फिल्ममा आइटम गीत बनाउन र गाउन निर्माताले दबाब दिने गरेको अनुभव उनले सुनाए ।

 

‘यी सब हुनुको कारण हामी अरुको प्रभावमा छौं,’ शम्भुजितले भने , ‘हामीले आफैलाई संरक्षण गर्न सकेका छैनौं ।’ स्टेजले नेपाली संगीतलाई लिड गरेको र हातमुख जोर्नका लागि मात्र संगीत चलेको प्रति तीनैजना सहमत देखिए ।