पहिलो पटक फिल्म निर्माणमा हात हालेका अभिनेता निरज बरालले आफ्नो फिल्म ‘स्टुपिड मन’ ले नाफाको व्यापार गर्ने आशा व्यक्त गरेका छन् । अगस्ट २ मा अमेरिकास्थित क्यालिफोर्निया शहरमा सम्पन्न ‘स्टुपिड मन’ को प्रिमियरमा निर्माता तथा अभिनेता बरालले यस्तो आशा व्यक्त गरेका हुन् ।
प्रिमियर शोमा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै अभिनेता एवं निर्माता बरालले भनेका छन्, ‘फिल्मले राम्रो व्यापार गर्नेमा आशावादी छु । च्यारेटी र प्रिमियरमा ‘स्टुपिड मन’ रुचाएको पाएको छु ।’ थाइल्यान्डको समुन्द्री सहरमा खिचिएको फिल्मलाई सार्वजनिक प्रदर्शनमा दर्शकले रुचाउने आशा पनि निरजले गरे । फिल्म प्रिमियरको लागि पत्नी सहित एक साता अघि निरज अमेरिका पुगेका थिए ।
दिवाकर भट्टराई निर्देशित फिल्म ‘स्टुपिड मन’ मा निर्माता निरज बराल, अभिनेता जिवन लुइँटेल र नव नायिका चाँदनी शर्मा र रिजु श्रेष्ठको मुख्य भूमिका छ । सामीप्यराज तिमल्सिनाको लेखन रहेको फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । भदौ २० गते देशभर प्रदर्शनमा आउने ‘स्टुपिड मन’ को गीत तथा संगीतलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।

