नेपाल नृत्यकार संघले गर्न लागेको सिने अवार्ड ‘डिसिए’ को उत्कृष्ट पाँचमा पर्ने कलाकार तथा प्राविधिकको मनोनयन सार्वजनिक गरिएको छ । एक औपचारिक कार्यक्रम गर्दै आइतबार उक्त मनोनयन सार्वजनिक गरिएको हो ।
वर्ष ०७० सालभित्र प्रदर्शनमा आएका फिल्महरु मध्येबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । डिसिएको उत्कृष्ट पाँच फिल्मको मनोनयनमा ‘काली’, ‘होस्टेल’, ‘नाईं नभन्नू ल २’, ‘छ एकान छ’ र ‘महसुस’ परेका छन् । निर्देशक तर्फ सविर श्रेष्ठ, विकास आचार्य, दिनेश डिसी, सुदर्शन थापा र तोसियाकी इतो उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल भएका छन् ।
त्यस्तै आर्यन सिग्देल, सौगात मल्ल, दयाहाङ राई, नवल खड्का र बिरेन श्रेष्ठ उत्कृष्ट पाँच अभिनेताको मनोनयन पर्न सफल भएका छन् भने अभिनेत्रीतर्फ रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निता ढुङ्गाना र सुमिना घिमिरे बीच उत्कृष्टतालागि प्रतिस्पर्धा गर्नेछन् । ३५ कुल विधामा वितरण गरिने अवार्डमा फिल्म ‘नाईं नभन्नू ल २’ सर्वाधिक १५ विधामा मनोनयनमा पर्न सफल भएको छ ।
‘नाईं नभन्नू ल २’ पछि ‘काली’, ‘होस्टेल’ र ‘भिमदत्त’ सर्वाधिक विधाको मनोनयनमा पर्न सफल भएका छन् । अवार्ड आयोजना हुने मिति तय भईसकेको छैन ।

