दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा ‘गैंडा’ ले संयुक्त रुपमा निर्माण गर्ने फिल्म ‘वडा नं ६’ को छायाँकन मिति सरेको छ । साउन २४ देखि भदौ १९ गतेसम्म भृकुटीमण्डपमा हुने ‘तीते जिरे मेरी बास्सै हाँस्य व्यंग्य गाईजात्रा’ कार्यक्रमले ‘वडा नं ६’ को छायाँकन तिहारपछि पुर्याएको हो ।
छायाँकन ढिलो सुरु हुने भएपछि ‘छ एकान छ’ फिल्म प्रदर्शन भएको पुस महिनामा 'वडा नं ६' प्रदर्शन नहुने भएको छ । निर्देशक पक्का भइनसकेको फिल्म ‘वडा नं ६’ सम्भवतः नयाँ नेपाली वर्षमा प्रदर्शन हुनेछ । तर नयाँ वर्षमा ‘भुलभुलैया’, ‘हवल्दार सुन्तली’ र ‘ए मेरो हजुर २’ ले पहिल्यै प्रदर्शन मिति तोकिसकेका छन् ।
अभिमन्यू निरवीले पटकथा लेखिरहेको फिल्म ‘वडा नं ६’ मा ‘छ एकान छ’ कै कलाकारहरु दोहोरिने सम्भावना छ । दिपक, दिपा र निर्मलले बाल कलाकार अनुभव रेग्मीलाई लिएर फिल्म बनाउने योजना पनि तत्काललाई थाती राखेका छन् । अनुभवको पढाइका कारण नामाकरण नगरिएको फिल्म छायाँकनमा जान नसकेको हो ।

