अमेरिकी दुतावासले नेपाली कलाकरलाई भिसा दिन कडाइ गरिरहेको बेला निर्माता तथा अभिनेता निरज बराल भने पत्नी सहित अमेरिका उडेका छन् । निरज यही जुलाइ ३१ तारिखमा (साउन १५ गते) पत्नी सहित फिल्म ‘स्टुपिड मन’ प्रिमियरमा गर्न अमेरिका उडेका हुन् ।
निरजको पहिलो लगानीको फिल्म ‘स्टुपिड मन’ को अगस्ट २ तारिखमा अमेरिकास्थित क्यालिफोर्निया शहरमा भव्य प्रिमियर हुँदैछ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘स्टुपिड मन’ को अमेरिकामा प्रिमियर सहित थप दुई शोहरु हुँदैछन् । निरज बराल अमेरिकाको प्रिमियर सकेर अष्ट्रेलियामा ९ तारिखमा हुने अर्को फिल्म ‘सेफ ल्याण्डिङ’को प्रिमियरमा पनि सहभागि हुने सम्भावना छ ।
अभिनयसँगै पहिलो पल्ट फिल्म निर्माणमा समेत उत्रिएका निरजले फिल्ममा जीवन लुइँटेल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खान,बसन्त अधिकारी कलाकारसँगै अभिनय गरेका छन् । सामीप्यराज तिमल्सिनाको लेखन रहेको फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । ‘स्टुपिड मन’ को गीत संगीत यतिबेला बजारमा हिट भैरहेको छ । फिल्म भदौ २० गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।

