फिल्मको व्यवसायिक बजार प्रचार प्रसारसँग प्रत्यक्ष जोडिएर आउँछ । फिल्मको विज्ञापन त्यतिबेला प्रभावकारी हुन्छ जतिबेला फिल्ममा अभिनय गर्ने कलाकारको प्रत्यक्ष सहभागिता हुन्छ । हलसम्म फिल्म हेर्न आउने दर्शक कलाकारसँगको साक्षत्कार हेर्न तथा सुन्न रुचाउँछन् ।
फिल्म ‘उत्सव’ अभिनेता सौगात मल्ल भने कलाकार सहभागी भएर गरिने फिल्म प्रचार प्रसार शैलीको विपक्षमा रहेछन् । फिल्म ‘उत्सव’ कै प्रेसमिटमा फिल्मीखबरसँग सौगातले नमस्ते गर्दै दर्शकलाई ‘फिल्म हेर्न आइदिनु होला’ भन्दै गरिने प्रचार प्रसार शैलीको अन्त्य हुनु पर्ने बताए ।
सौगातले प्रश्न गरे, ‘हजुर नमस्कार हाम्रो फिल्म हेर्न आउनुएस् भनेर दर्शकलाई कहिलेसम्म भन्ने ? राम्रो फिल्म हेर्न दर्शक आफै हलमा आउँछन् ।’ सौगात सम्भवतः ‘उत्सव’ प्रदर्शनताका फिल्म ‘षडङ्क’ को छायाँकनमा व्यस्त हुनेछन् । निर्देशक कुमार भट्टराईले अभिनेता मल्ललाई हालसम्मकै फरक भूमिकामा प्रस्तुत गरेको अभिव्यक्ति गत साता सम्पन्न प्रेसमिटमा दिएका थिए ।
युवापुस्ता लक्षित फिल्म ‘उत्सव’ सौगात मल्ल केद्रित छ । शेखर कोइराला निर्मित फिल्म ‘उत्सव’ मा सौगातसँगै गौरव पहारी, प्रकृति श्रेष्ठ, संजोग कोइराला र मेनुका प्रधानको मुख्य अभिनय छ । पाँच जना साथीहरुको यात्रा अनि संगीतसँग सम्बन्धित फिल्म ‘उत्सव’ को प्रोमोलाई रुचाइएको छ ।